द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री वर्षा सिवाकोटी र डेव्यु अभिनेता अमर प्रताप श्रेष्ठको मुख्य भुमिका रहेको सिनेमा ‘मोदीबेनी’को गीत मन्जुरी गत हप्ता रिलिज भइको थियो । गीतका कोरियोग्राफर किरण थापाले गत हप्ता सार्वजनिक गीत मन्जुरीको भिडियो शब्दको भाव अनुसार निर्माण गरेको बताएका छन् ।
साउन १८ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमाको यो गीतका शब्दले किरणलाई सुरुमा प्रभावित बनाएको थियो । उनी भन्छन्, ‘मलाई गीतको शब्दले एकदम आकर्षित गरेको थियो । गीतको ‘फिरफिर रिबन’ भाग अत्यन्त मनर्पयो । हर शब्दले एउटा कथा भनिरहेको छ । मैले यो गीतलाई न्याय गर्न सक्छु भनेर कोरियोग्राफीको लागि मन्जुर भएँ ।’
यो गीत सुन्दा किरणलाई यसले विभिन्न रङ्गहरूको माग गरिरहेको छ भन्ने महसुस भएको रहेछ । ‘गीतले विभिन्न किसिमको रङ्गहरू मागिरहेको थियो । सिनेमाको जुन सेटअप छ । जुन ठाउँको कथा छ । त्यसलाई नै मिलाएर मैले दृश्यभाषा निर्माण गर्न खोजेको छु,’ किरण भन्छन्, ‘भिडियोको हुकस्टेपलाई सामान्य रूपमा नृत्य गर्दा आफ्नो भावलाई व्यक्त गर्न सक्ने गरी बनाएको छु । यसमा प्रयोग गरिएका विभिन्न प्रप्सहरू र प्राकृतिक सौन्दर्यले कलाकारको केमेस्ट्रीलाई वर्णन गर्छन् ।’
किरणलाई नेपालमा अत्याधुनिक प्राविधिक सामग्री र प्रविधि प्रयोग गरेर छायांकन गर्ने ठूलो इच्छा छ । ‘म आफूलाई अझै निखारेर अध्ययन एवं अनुसन्धान गरेर र नेपाली सिनेमाको कोरियोग्राफीमा नयाँ क्रान्ति गर्ने इच्छा छ,’ उनी सुनिए । किरणले यसअघि सिनेमा ‘फर्की फर्की’को शीर्ष गीतमा पनि कोरियोग्राफी गरेका थिए । म्यूजिक भिडियोमा कोरियोग्राफी भने उनको दर्जनौं पुगिसकेको छ ।
शंकर कोइरालाको डेब्यु निर्देशनमा निर्माण भएको सिनेमामा वर्षा र अमरका अलवा सरोज खनाल, रेजिना उप्रेती, प्रवीण खतिवडा, दीलिप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको पनि अभिनय छ ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमाको कथा आनन्द विक्रम क्षेत्रीले लेखेका हुन् । दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेको सिनेमामा उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ ।




प्रतिक्रिया