द सिनेमा टाइम्स, काठमाडौं – राजु गिरीको निर्देशनमा निर्माण भएको सिनेमा ‘ईश्वर’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । सिनेमाले मल्टीप्लेक्समा न्युन शो पाएपनि सिंगल स्क्रिनमा भने राम्रो पकड जमाएको छ । यो शुक्रबार कुनैपनि ठुलो बजेटका सिनेमा रिलिज नहुनुको फाइदा सिनेमालाई मिलेको हो ।
अन्तरजातीय प्रेम सम्बन्धको कथावाचन गरिएको सिनेमामा अनु शाह, सुनिल थापा, शिशिर वाङ्गदेल, माओत्से गुरुङ, रविन्द्र झा, बुद्धि तामाङ, पृथ्वीराज प्रसाई, ध्रुव थापा, कृष्टि गुरुङ, सुविन बाँस्तोला, युवराज गिरी लगायतको अभिनय छ । लक्ष्मी कुँवर थापा प्रस्तुतकर्ता रहेको सिनेमाको निर्मातामा हरिबहादुर थापा हुन् ।
निर्देशक गिरी स्वयंको कथा र भोजराज देवकोटाको पटकथा तथा संवाद लेखन रहेको सिनेमामा रामेश्वर हुँमागाईको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी तथा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत छ ।
‘ईश्वर’सँगै शुक्रबारदेखि आरएल लामा मोक्तान निर्देशित सिनेमा ‘ब्ल्याक छायाँ’ पनि हलमा लागेको छ । यी दुई सिनेमासँगै दक्षिण भारतीय सिनेमा रायन पनि शुक्रबारबाट नेपाली हलमा रिलिज भएको छ ।


प्रतिक्रिया