द सिनेमा टाइम्स,काठमाडौं । निर्माणाधीन नेपाली सिनेमा ‘होस्टेल ३’ले छायांकन अगावै रिलिज मिति घोषणा गरेको छ । भदौ २१ गते छायांकनमा जान लागेको यो सिनेमा आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज गर्ने निर्णय गरेको निर्देशक सशान कँडेलले बताए ।
यसअघि प्रमुख भूमिकामा ‘कुल ब्वाय‘ अर्थात् पारस बम, रिहान गिरी, पदम तामाङ र सिम्रन पन्त अनुबन्धित भइसकेका छन् । अब यो सिनेमामा अर्को प्रमुख भूमिकामा नयाँ पात्रको प्रवेश भएको छ, उनी हुन् आशिष घिमिरे।
आशिष ‘माग्ने बुढा’को नामबाट परिचित प्रसिद्ध कलाकार केदार घिमिरेका छोरा हुन् । आशिषले बाल्यकालमा चर्चित हास्य टेलि शृङ्खला ‘मेरी बास्सै’मा आफ्नै पितासँग ‘धुन्धुकारी’ नामक छोराको भूमिकामा अभिनय गरेका थिए । उनी सो शृङ्खलामा निकै चर्चित थिए ।
यस्तै, ‘होस्टेल ३’मा अर्की कलाकार हेना नगरकोटी पनि अनुबन्धित भएकी छन् । हेना थियटर पृष्ठभूमिबाट सिनेमामा प्रवेश गरेकी हुन् । उनले एक्टर स्टुडियोमा लामो समय नाटक गरेकी छन् भने वेब सिरिजहरू ‘खेल’ र ‘साहु बा’मा पनि अभिनय गरेकी छन् । सिनेमा ‘बाइरोड’मा समेत उनले अभिनय गरेकी छन् ।
‘होस्टेल ३‘को लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन् । यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन् । ‘होस्टेल ३’लाई सम्मानइन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ । यसका कार्यकारी निर्माता शंकर कोइराला हुन् भने निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी हुन् । सह-निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुन् । लाइन प्रोड्युसर भेषराज गौतम हुन् ।
प्रतिक्रिया