जितु र नीतिको ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक

जितु र नीतिको ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
189
Shares

द सिनेमा टाइम्स, काठमाडौं । दशैंको फूलपातीबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक भएको छ । बसन्त निरौला निर्देशित तीन मिनेट लामो ट्रेलरले सिनेमाको कथावस्तु प्रकाश पार्छ ।

सिनेमाका मुख्य पात्र जितु नेपाल लगायतले ‘ज्वाइँ साब’ बन्न गरेको संघर्षलाई रमाइलो शैलीमा देखाउन खोजिएको छ । विवाहपछि बेहुलीको घरमा बेहुला भित्रिने कथावस्तुमा आधारित भएर सिनेमा निर्माण भएको सार्वजनिक ट्रेलरले देखाउँछ ।

ज्वाइँ साब बन्न पाउने अवसरको विज्ञापन सुनेपछि सम्पत्तिको लोभमा अभिनेत्री नीति शाहसँग विवाह गर्न युवकहरूबीच प्रतिस्पर्धा हुन्छ । नीतिले योग्य श्रीमान् छान्नका लागि विभिन्न प्रतियोगिताहरु गराउँछिन् । ती सबैमा उत्तीर्ण भएका जितुसँग उनको विवाह हुन्छ । त्यसपछिको परिस्थितिले जितु वैदेशिक रोजगारीमा जान बाध्य भएको कथावस्तु ट्रेलरमा समेटिएको छ ।

सिनेमामा जितु र नीतिसँगै बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, सन्दीप क्षेत्री, कविता आले, शिशिर वाङ्देल, दीपक आचार्य (काकु), राजकुमार पण्डित, निमा पाण्डे, कमलमणी नेपाल, प्रकाश घिमिरे, सीपी पौडेल, सुमन राई, राजेन्द्र नेपाली, विश्व मुखिया, दीपक अधिकारी, इशान राउत, शिवु पाण्डे लगायतको पनि अभिनय छ ।

रेड आई फिल्मस्को प्रस्तुति र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता विजय बस्याल हुन् । सिनेमामा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ ।

राजकुमार पण्डितको प्रस्तुतिमा बनेको सिनेमामा अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत, श्याम तामाङको छायांकन, सविन अधिकारीको कथा, सन्देश शाहको सम्पादन तथा सञ्जय थापाको एक्सन छ ।