‘पूर्ण बहादुरको सारङ्गी’को तेस्रो गीत ‘मैझारो’ सार्वजनिक

‘पूर्ण बहादुरको सारङ्गी’को तेस्रो गीत ‘मैझारो’ सार्वजनिक

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । कात्तिक १५ गते लक्ष्मीपूजाको अवसरमा प्रदर्शनमा आउन लागेको सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को तेस्रो गीत सार्वजनिक भएको छ । घटस्थापनाको अवसर पारेर बिहीबार सार्वजनिक ‘मैझारो’ बोलको गीतले प्रेमपीडा बोल्छ ।

सिनेमाको गीतमा शब्द रचना, संगीत र स्वर प्रशान्त सिवाकोटीको छ । सिनेमाको यसअघि सार्वजनिक दुई गीत ‘दाहिने हातैमा’ र ‘काँधेकुरी’लाई पनि उनले तयार पारेका हुन् । यी दुवै गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेका छन् । यस्तै, बुवाको मुख हेर्ने दिनको अवसर पारेर सिनेमाको टिजर समेत रिलिज गरिएको थियो । सिनेमाका यसअघि सार्वजनिक दुई गीतको तुलनामा टिजरको चर्चा बढि छ ।

बिहीबार सार्वजनिक ‘मैझारो’ गीतमा श्रीमती (अञ्जना बराइली)ले छाडेपछि गाउँगाउँ पुगेर सारङ्गी बजाउँदै पूर्णबहादुर (विजय बराल)ले आफ्नो प्रेमपीडा सुनाइरहेको देखिन्छ । विजय र अञ्जनाबीचको प्रेमलाई दृश्यमार्फत् पनि देखाउन खोजिएको छ । गीतको अन्तिममा पूर्णबहादुरले आफ्नो छोरालाई सारङ्गी बजाउन सिकाइरहेको दृश्यले पारिवारिक विरासत र गन्धर्व जातिको पेशालाई देखाउने प्रयास गरेको छ ।

सरोज पौडेलको कथा तथा निर्देशनमा बनेको सिनेमामा विजय र अञ्जनासहित प्रकाश सपूत, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह, जानवी पौडेल लगायतको अभिनय छ । सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।

सेभेन सिज सिनेमा र बाँसुरी फिल्मस्को प्रस्तुति रहेको सिनेमामा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माताको रुपमा छन् । रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माता रहेको सिनेमाले गन्धर्व परिवारको कथा उठाएको छ । सिनेमामा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर छ ।