तुलसी घिमिरेको कमव्याक सिनेमा ‘पहाड’मा विपिनले गाए र्‍याप

तुलसी घिमिरेको कमव्याक सिनेमा ‘पहाड’मा विपिनले गाए र्‍याप

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं । बरिष्ठ निर्देशक तुलसी घिमिरे ७ बर्षपछि सिनेमा निर्माण तथा निर्देशनमा कमव्याक गर्ने भएका छन् । उनले आफ्नो २३ औं सिनेमाको रुपमा पहाड निर्माण तथा निर्देशक गर्ने भएका हुन् । यो सिनेमाको आइतबार एक गीत रेकर्ड गरिएको छ ।

सिनेमाको यो गीतमा अभिनेता विपिन कार्कीले आफ्नो स्वर दिएका छन् । काठमाडौंको महाराजगञ्जस्थित भेनस रेकर्डिङ स्टुडियोमा उनले र्‍याप गीत गाएका हुन् । विपिनले यसअघि सिनेमा ‘छड्के’मा समावेश गीत ‘भुटुटुटु’ गाएका थिए । ‘पहाड’को गीतमा विपिनलाई भारती घिमिरे (तुलसी घिमिरेकी श्रीमती) लगायतले गायनमा साथ दिएका छन् ।

गीतमा रञ्जीत गजमेरको संगीत तथा निर्देशक घिमिरे स्वयंको शब्द रचना छ । संगीतकार गजमेरले लामो समयपछि नेपाली सिनेमाको गीतमा संगीत भरेका हुन् । उनी निर्देशक घिमिरेका ससुरा हुन् । सिनेमामा चार गीत समावेश गरिने निर्देशक घिमिरेले जानकारी दिएका छन् ।

कात्तिकपछि छायांकनको तयारी गरिएको सिनेमामा विपिन मुख्य भूमिकामा देखिनेछन् भने मदनकृष्ण श्रेष्ठ, सुनील थापा लगायतका कलाकारको पनि अभिनय रहने निश्चित भइसकेको छ । निर्देशक घिमिरेले सिनेमामा अर्का एक चल्तीका अभिनेता र एक नव-अभिनेत्री पनि रहने जानकारी दिएका छन् ।

पछिल्लो समय बढ्दो बसाइँसराइले रित्तिँदै गएको पहाडी भूगोलको कथामा सिनेमा निर्माण हुनेछ । नेपालका विभिन्न पहाडी भेगमा ५० प्रतिशत र बाँकी ५० प्रतिशत छायांकन मुम्बईमा हुने जनाइएको छ । प्रि-प्रोडक्सनको अन्तिम चरणमा रहेका सिनेमाको प्रोडक्सन डिजाइनरमा निर्देशक घिमिरेकी छोरी भावना छिन् ।