द सिनेमा टाइम्स, काठमाडौं । दीपक रौनियार निर्देशित सिनेमा ‘राजागञ्जः पूजा, सर’को कार्यकारी निर्माताको रुपमा बलिउड निर्देशक अनुराग कश्यप जोडिएका छन् । हलिउड म्यागजिन भेराइटीले समाचार प्रकाशन गर्दै च्यानल फोरले यूके र आयरल्यान्डका लागि सिनेमाको राइट्स खरिद गरेको पनि उल्लेख गरेको छ ।
निर्देशक, निर्माता तथा कलाकार समेत रहेका अनुराग बलिउडका सफल निर्देशक हुन् । ‘ग्याङ्स अफ वासेपुर’बाट निर्देशनमा आफूलाई स्थापित गरेका उनले ‘एके भर्सेस एके’, ‘भूतनाथ रिटन्र्स’, ‘अकिरा’ र ‘महाराजा’ जस्ता सिनेमामा अभिनय गरेका छन् । उनी अभिनीत पछिल्लो सिनेमा ‘महाराजा’ ओटिटीमा रिलिज भएसँगै नेपालमा पनि निकै चर्चामा रहेको थियो ।
‘मेरो लागि यो गर्वको कुरा हो । म पूजा, सरको निर्माण टीममा जोडिएको छु’ कश्यपको भनेको भेराइटीले प्रकाशन गरेको समाचारमा लेखेको छ, ‘यो एक मार्मिक र सान्दर्भिक विधाको सिनेमा मात्र होइन । म विश्वस्त छु कि ‘पूजा, सर’ले भारतीय दर्शकको आवाज पनि भन्नेछ ।’
निर्देशक रौनियारको ‘सेतो सूर्य’ हेरेपछि आफू फ्यान भएको र उनले गर्ने हरेक कामलाई लिएर आफू उत्सुक रहेको समेत कश्यपले भेराइटीलाई बताएका छन् । ‘दीपक र मीन भाम नेपालका दुई रोमाञ्चक आवाज हुन् । उनीहरु आउन बाँकी रहेको नेपाली सिनेमाका अग्रणी व्यक्ति समेत हुन्’ कश्यपले भनेका छन् ।
नेपाली सिनेमा ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन गत भदौमा अनुराग कश्यप काठमाडौं पनि आएका थिए । विश्व प्रतिष्ठित सिनेमा महोत्सवहरु चहारिरहेको ‘राजागञ्जः पूजा, सर’ यस वर्षको भेनिस सिनेमा महोत्सवमा छनोट भएर प्रदर्शन भएको थियो । त्यहाँ उपस्थित दर्शकले सिनेमालाई १० मिनेटको ‘स्ट्यान्डिङ ओभेसन’ दिएका थिए ।
यसपछि बुसान जस्तो प्रतिष्ठित सिनेमा महोत्सवमा पनि ‘राजागञ्जः पूजा, सर’ प्रदर्शन भइसकेको छ । यो सिनेमा भारतको मुम्बई सिनेमा महोत्सवमा समेत छनोट भएको छ । सिनेमाको नेपाल प्रदर्शन मिति भने घोषणा गरिएको छैन । तर, निर्माण टिम आगामी चैत्र १ गतेबाट सिनेमा नेपालसहित विश्वभर एकसाथ रिलिजको तयारीमा रहेको बुभिएको छ ।
सत्य घटनाबाट प्रेरित रहेको ‘राजागञ्जः पूजा, सर’ स्वीट्जरल्यान्ड, जर्मनी र अस्ट्रिया जस्ता देशमा पनि बिक्री भइसकेको जनाइएको छ । सिनेमाले नेपाल र भारतको सीमावर्ती शहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा उठाएको छ ।
यो सोसल ड्रामा तथा एक्सन सिनेमामा आशा मगराती मुख्य भूमिका छिन् । सिनेमामा आशाका अलवा पूर्वमिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, पशुपति राई र नीरज श्रेष्ठको पनि अभिनय रहेको छ ।
सिनेमाको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।


प्रतिक्रिया