द सिनेमा टाइम्स, काठमाडौं । दशैंको फूलपातीको अवसर पारेर रिलिज गरिएको सिनेमा ‘ह्रस्व दीर्घ’को टिजरलाई दर्शकले रुचाएका छन् । सिनेमाको सार्वजनिक टिजरले हालसम्म ८ लाख ९१ हजार बढि भ्युज, ३० हजार लाइक र २ हजार ६ सय बढि प्रतिक्रिया पाएको छ । जसमा अधिकांश प्रतिक्रिया सिनेमाको टिजर मन परेको उल्लेख छन् ।
सिनेमामा एउटै नक्षत्र, ग्रह र भाग्य भएका प्रेम जोडीको सम्बन्ध र उनीहरुको जीवनमा आउने आरोह-अवरोहको कथा देखाइएको छ । सिनेमाको सार्वजनिक टिजरमा अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगाना प्रेम जोडीको रुपमा प्रस्तुत छन् । हरिहरको अर्की अभिनेत्री गरिमा शर्मासँग पनि प्रेम देख्न सकिन्छ ।
लामो समयपछि नेपाली सिनेमामा कमव्याक गरेकी अभिनेत्री विपना थापालाई राजनीतिज्ञको रुपमा देखाइएको बुझिन्छ । अर्की अभिनेत्री रेखा थापा नामी ज्योतिषको भूमिकामा देखिएकी छन् । टिजरमा साउथका कलाकारहरु ब्रह्मानन्दम, अली, सुनिल वर्मा, प्रदीप रावत, कबीर दुहन सिंहलाई पनि स्थान दिइएको छ । ज्योतिषशास्त्रमा सिनेमाको कथा बुनिएको टिजरले बुझाउँछ ।
सिनेमाको सस्पेन्स टिजर र दक्षिण भारतीय चर्चित कलाकारका कारण ‘ह्रस्व दीर्घ’ चर्चामा छ । नेपाली सिनेमामा साउथका कलाकारलाई देख्न पाइएको भन्दै अधिकांश दर्शकले टिजरको कमेन्टबक्समा खुशी प्रकट गरेका छन् । जसले सिनेमाको सार्वजनिक टिजरले दर्शकमाझ राम्रो हाइप बनाएको छनक दिएको छ । तर, केही दर्शकले सिनेमाको टिजरमा समावेश साउथमा चर्चित कलाकार ब्रह्मानन्दम संवादको डविङ कमजोर सुनिएकाले सच्याउन अनुरोध समेत गरेका छन् ।
त्यसका साथै नेपाली सिनेमालाई ह्रस्व दीर्घले भारतसहित विश्वभर चिनाउने विश्वास व्यक्त गरेका छन् । साउथका चर्चित कलाकारलाई लिएर ठुलो बजेटमा सिनेमा निर्माण गर्ने हिम्मत गरेको भन्दै निर्मात्री समेत रहेकी अभिनेत्री नीता ढुंगानाको तारिफमा शब्द खर्चेका छन् । साथै उनको पहिलो सिनेमा अहिलेसम्मकै बेस्ट नेपाली सिनेमा बनोस् भन्दै शुभकामना समेत दर्शकले दिएका कारण सिनेमाले राम्रो व्यापार गर्ने संकेत देखाएको छ ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।
सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।
अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।


प्रतिक्रिया