हरर कमेडी ‘फिरफिरे फिरिरी’को ट्रेलर सार्वजनिक

हरर कमेडी ‘फिरफिरे फिरिरी’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
126
Shares

द सिनेमा टाइम्स, काठमाडौं । हरर कमेडी सिनेमा ‘फिरफिरे फिरिरी’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबा बीच सार्वजनिक गरिएको ट्रेलरले सिनेमाको कथावस्तुका बारेमा प्रकाश पार्छ ।

नेपालमा विरलै प्रयोग भएको हरर-कमेडी जनरा बलिउड तथा हलिउडमा सर्वाधिक सफल देखिन्छ । नेपालमा प्रायः हरर वा कमेडी कथामा मात्र सिनेमा निर्माण हुने भएपनि छठ पर्वको अवसरमा कात्तिक २२ गतेबाट प्रदर्शनमा आउने ‘फिरफिरे फिरिरी’ले हरर-कमेडीको समिश्रण सहित हँसाउने र तर्साउने उद्देश्य राखेको छ ।

सिनेमाको सार्वजनिक ट्रेलरले गाउँघरमै बसेर विभिन्न पेशा अंगालेका चार युवकहरुको जीवनमा अचानक एक युवतीको आगमनपछि उत्पन्न परिस्थितिलाई हाँस्य शैलीमा देखाएको छ । ट्रेलरको अन्त्यतिर युवतीलाई भूतको रुपमा प्रस्तुत गर्न खोजिएको छ । ‘आज साइकल, भोलि फरारी’ ट्यागलाइन दिइएको सिनेमाले दर्शकलाई नयाँ स्वाद दिने विश्वास निर्माण टिमलाई छ ।

नविन भट्टको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमाबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले डेब्यु गरेका छन् । सिनेमामा रविना केसी, पिटर प्रिन्स, मनोज कुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थी लगायतको पनि अभिनय छ । निर्देशक भट्ट र सन्दीप श्रेष्ठले सिनेमाको स्क्रिप्ट लेखेका हुन् ।

बिन्दबासिनी क्रियसनको व्यानरमा निर्माण भएको सिनेमाका निर्माता मनोज कुमार अधिकारी हुन् । उनी १५ वर्षपछि सिनेमा निर्माणमा फर्किएका हुन् । उनले यसअघि ‘नौ डाँडा पारी’ र ‘मंगलसूत्र’ लगायतका सिनेमा निर्माण गरेका थिए । नितिश पुन यो सिनेमाका सह-निर्मातामा छन् ।

सिनेमामा जितु तामाङको छायांकन, केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकग्राउन्ड म्यूजिक, प्रशान्त सिवाकोटीको संगीत तथा अनन्त घिमिरेको सम्पादन छ । आरआर फिल्म्सले वितरण गर्ने सिनेमाको डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ ।