द सिनेमा टाइम्स, काठमाडौं । गत असोज १७ गते दशैंको घटस्थापनाको दिनबाट प्रदर्शनमा आएको सिनेमा ‘बेहुली फ्रम मेघौली’ ओटिटी प्लेटफर्म ‘एमएसएम भिडियो’मा रिलिज भएको छ ।
रिलिजको पहिलो दिन नेपाली सिनेमाको इतिहासमा सवैभन्दा बढि ३४० शो पाएको सिनेमाले बक्सअफिसमा आक्रामक व्यापार गरेको थियो । पहिलो हप्ता आक्रामक व्यापार र उच्च शोसहित प्रदर्शनमा आएको सिनेमा दोस्रो हप्ता प्रदर्शनमा आएका सिनेमा छक्का पञ्जा ५, १२ गाउँ र ज्वाइँ सावका कारण न्युन शोमा खुम्चिनु पर्यो ।
आफ्नो सिनेमाले उत्कृष्ट वर्डअफ माउथ सहित राम्रो व्यापार गरिरहँदा पनि हलले शो नथपेको भन्दै निर्माता तथा अभिनेता निश्चल बस्नेत आक्रोशित बनेका थिए । सिनेमा हलले नेपाली सिनेमाभन्दा पनि बलिउड सिनेमालाई प्रथामिकता दिएको भन्दै हलको विकल्पको रुपमा उनले आज कार्तिक ९ गते शुक्रबारबाट ओटिटीमा रिलिज भएको हो ।
सिनेमाका निर्माता तथा अभिनेता निश्चलले आफ्नो फेसबुक प्रोफाइलमा सिनेमा एमएसएम भिडियोमा रिलिज भएको जानकारी दिएका छन् । साथै, आईओएस र एन्ड्रोइडमा उपलब्ध उक्त ओटीटीको एप डाउनलोड गरेर सिनेमा हलमा ‘बेहुली फ्रम मेघौली’ हेर्न छुट्नु भएका दर्शकलाई सिनेमा उनले अनुरोध गरेका छन् ।
सिनेमामा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय सिनेमा हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।
अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ ।


प्रतिक्रिया