‘अग्निदहन’को पहिलो गीत ‘दाई दाई नभन मलाई’ सार्वजनिक

‘अग्निदहन’को पहिलो गीत ‘दाई दाई नभन मलाई’ सार्वजनिक

द सिनेमा टाइम्स
147
Shares

द सिनेमा टाइम्स, काठमाडौं । घनश्याम लामिछानेको निर्देशनमा निर्माण भएको बोक्सी कुप्रथाविरुद्धको सिनेमा ‘अग्निदहन’को पहिलो गीत सार्वजनिक गरिएको छ । पार्वती जिसी र तुलसी क्षेत्रीको युगल गायन रहेको ‘दाई दाई नभन मलाई’ बोलको लोक लयको गीतमा परशुराम अधिकारीको संगीत तथा लोकमणि पौडेलको शब्द रचना छ ।

विवाहको सेटअपमा तयार पारिएको गीतको भिडियोमा महिलाहरु रत्यौलीमा रमाइरहेका देखिन्छन् । धर्मेन्द्र पौडेलले कोरियोग्राफी रहेको भिडियोमा अनुपमा भण्डारी, प्रमिला तुलाचन, रमा त्रिपाठी, सनिशा भट्टराई, तुलसी क्षेत्री, सरला कुमारी पाण्डे लगायत नृत्य गर्दै प्रस्तुत छन् । रत्यौली खेल्दा छोरी मान्छे केटाको भेषमा नाच्ने प्रचलनलाई पनि देखाइएको छ । जसलाई ‘लुठो’ भनिन्छ । रमा त्रिपाठी दौरा सुरुवाल, स्टकोट र ढाका टोपी लगाएर ‘लुठो’ बनेकी छन् ।

लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’मा आधारित भएर बनेको सिनेमामा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङ लगायतको अभिनय छ । आगामी मंसिर ७ गतेबाट प्रदर्शन हुन लागेको सिनेमालाई मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको हो ।

मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको फिल्ममा लोकमणि पौडेलको कथा, पटकथा र संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, दीर्घ गुरुङको छायांकन तथा दीर्घ खड्काको सम्पादन रहेको छ । मान्छे बोक्सी हुँदैन भन्ने सोचलाई अभियानको रुपमा अगाडि बढाउन फिल्म बनाएको उनको भनाई छ । सिनेमालाई डिसिएनले नेपालभर वितरण गर्दैछ ।