द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमा ‘जेरी अन टप’को छायांकन सुरु गरिएको छ । सोमबार बिहान पाटनस्थित बगलामुखी मन्दिरमा सिनेमाको शुभमुहूर्त गरेपछि निर्माण टिम छायांकनमा निस्किएको हो ।
सिनेमाको शुभमुहूर्तमा निर्माता तथा निर्देशकसँगै मुख्य कलाकारहरु अनमोल केसी, आँचल शर्मा, जसिता गरुङ केदार घिमिरे (माग्ने बुढा), विपना थापा लगायतको उपस्थिति थियो । सिनेमाका कलाकारहरुले मुहूर्तअघि बगलामुखी मन्दिरमा गरिएको विशेष पूजामा सहभागी भएका थिए ।
निर्माता सरोज न्यौपानेले धुलिखेलबाट सुरु भएको सिनेमाको छायांकन त्यहाँ तीन दिन चल्ने बताए । त्यसपछि काठमाडौंमा छायांकन गरेर निर्माण टिम लुक्ला प्रस्थान गर्नेछ । भारतको लद्दाखमा पनि सिनेमाको छायांकन हुनेछ । ६० दिनको छायांकन सेड्युल राखिएको सिनेमाको बजेट ३ करोड अनुमान गरिएको छ ।
त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने सिनेमाको मुहूर्त समारोहमा बोल्दै अनमोलले पहिलो पटक केदार घिमिरेसँग सहकार्य गर्न पाएकोमा खुसी लागेको बताए । ‘छक्का पञ्जाको हरेक श्रृंखलामा केदार दाईको इन्ट्री हुँदा ताली बजाउनेमा म पनि पर्छु । म उहाँको फ्यान हुँ । उहाँको ऊर्जाबाट पनि म प्रभावित छु ।’ त्यस्तै, केदारले अनमोलको सिनेमा ‘जेरी अन टप’मा जोडिन पाउँदा खुसी लागेको बताए ।
सुयोग गुरुङको निर्देशनमा निर्माण हुने सिनेमामा भुवन केसी, सुरक्षा पन्त, निर्मल शर्मा, संगीता मगर, सुष्मा निरौला लगायतका कलाकारको पनि अभिनय रहनेछ । सिनेमामा भुवन र विपनाले अनमोलको बुबा–आमाको भूमिका निर्वाह गर्नेछन् । १८ वर्षपछि उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । सिनेमाको कथा हेमराज बिसीको हो भने विश्व तिमिल्सेनाको पटकथा लेखन रहेको छ । सिनेमाको संवाद लेखनमा निर्माण टिमले साइग्रेस पोखरेलसँग पनि सहकार्य गरेको छ ।
अनन्या फिल्म्स र भण्डारी मल्टिट्रेडको ब्यानरमा निर्माण हुने सिनेमा आगामी फागुन २ गतेदेखि प्रदर्शनमा आउने छ । उज्जवल जोशीको छायांकन रहने सिनेमामा सुरेन्द्र पौडेलको सम्पादन रहनेछ । सिनेमाको निर्माणमा सरोज न्यौपानेलाई दीपक भण्डारी, रोबिन सेरचन, रामकृष्ण श्रेष्ठले सघाएका छन् । इश्वर श्रेष्ठ र अनिरुद्र गिरी कार्यकारी निर्माता रहेको सिनेमामा ओमप्रकाश अग्रवाल र विवेक थापा एसोसिएट निर्माताको रुपमा रहेका छन् ।




प्रतिक्रिया