द सिनेमा टाइम्स, काठमाडौं । कार्तिक १५ गते तिहारको लक्ष्मीपूजाको अवसर आज बिहीबारबाट सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनमा आएको छ । सोलो रिलिजको अवसर पाएको सिनेमाले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म सुखद् शो पाएको छ ।
चौंथो हप्तामा प्रवेश गरेका ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’को प्रभाव अझै कम नहुनु र भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेका बलिउडका दुई ठूला सिनेमा ‘सिंघम अगेन’ र ‘भूल भुलैयाँ ३’ का बीच आफूलाई अब्बल प्रमाणित गर्न ‘पूर्ण बहादुरको सारङ्गी’लाई ठुलो चुनौती देखिन्छ । नेपालीहरुको ठुलो चाड तिहारको पाँच दिन लामो विदा छ । दर्शकबाट ‘वर्ड अफ माउथ’ बलियो पाएको अवस्थामा सिनेमाले तिहार विदाको राम्रो फाइदा उठाउन सक्ने देखिन्छ ।
गन्धर्व समुदायको कथामा आधारित भएर निर्माण भएको सिनेमा विजयको छोराको भूमिकामा प्रकाशले अभिनय गरेका छन् । सिनेमाले बाबु-छोराबीचको भावनात्मक सम्बन्धको कथा भन्छ । टिकटक र युट्युब जस्ता प्लेटफर्ममा निकै लोकप्रिय बनिरहेको ‘काँधेकुरी’ गीत र टिजर अनि ट्रेलरका कारण सिनेमा चर्चाको शिखरमा छ ।
सरोज पौडेलको कथा तथा निर्देशनमा निर्माण भएको सिनेमामा विजय र अञ्जनासहित प्रकाश सपूत, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह, जानवी पौडेल लगायतको अभिनय छ । सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।
सेभेन सिज सिनेमा र बाँसुरी फिल्मस्को प्रस्तुति रहेको सिनेमामा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माताको रुपमा छन् । रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माता रहेको सिनेमाले गन्धर्व परिवारको कथा उठाएको छ । सिनेमामा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर छ ।


प्रतिक्रिया