‘अञ्जिला’को वर्ल्ड प्रिमियर हङकङमा हुने

‘अञ्जिला’को वर्ल्ड प्रिमियर हङकङमा हुने

द सिनेमा टाइम्स
70
Shares

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित  सिनेमा ‘अञ्जिला’को आधिकारिक पोस्टर सार्वजनिक गर्दै यसको वर्ल्ड प्रिमियरको जानकारी गराइएको छ । सिनेमाको वर्ल्ड प्रिमियर मङ्सिर २३, २०८१ (डिसेम्बर ८) मा हङकङमा हुने तय गरिएको छ । सो प्रिमियरमा एञ्जिला तुम्बापो सुब्बा र निर्देशक मिलन चाम्स सहभागी हुनेछन् ।

हङकङ प्रिमियरपछि नेपाल रिलिज अगावै यो सिनेमाको प्रदर्शन युके, अमेरिका, अस्ट्रेलिया, र जापानमा हुने निर्माता प्रेम कुमार श्रेष्ठले बताए । नेपालमा भने यो सिनेमाको रिलिज मिति फागुन २९ गते तोकिएको छ ।

सिनेमामा एञ्जिला आफैँ मुख्य भूमिकामा देखिनेछिन् भने सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन् । निर्माता प्रेम कुमार श्रेष्ठले पनि सिनेमामा प्रमुख भूमिका निर्वाह गरेका छन् ।

छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ । निर्देशक मिलन चाम्सले सिनेमाले फरक प्रकारको प्रभाव छोड्ने विश्वास व्यक्त गरे ।

सिनेमाको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस सिनेमाका निर्माता प्रेम कुमार श्रेष्ठ हुन्, भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् । विनोद सुवेदी खत्रीले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन् ।