द सिनेमा टाइम्स, काठमाडौं । गत जेठमा रिलिज भएको सिनेमा ‘पूजार सार्की’का निर्माता सुवास भुसालले निर्माण गरेको दोस्रो सिनेमा ‘फ्रयाक्चर’को छायांकन सकिएको छ । यो सिनेमाको ७० प्रतिशत छायांकन नेपाल र बाँकी ३० प्रतिशत छायांकन अमेरिकामा गरिएको हो ।
यो सिनेमा पूर्ण रुपमा अंग्रेजी भाषामा निर्माण भएको जानकारी निर्माता भुसालले दिए । यो सिनेमाबाट अभिनेता आर्यन सिग्देलले पहिलोपटक हलिउडमा डेव्यु गरेका छन् । अमेरिकी निर्देशक तथा छायाँकार रायन ट्राभिसले निर्देशन गरेका हुन् । सिनेमामा आर्यनसँगै हलिउड अभिनेता ट्रेन्टन रोस्टेड्ट पनि मुख्य भूमिका छन् । उनले ‘हलिउड किल्स’, ‘अन्डर द वेस्टर्न सन’, ‘सिरोनिया’, ‘द रेड’ जस्ता सिनेमामा काम गरेका छन् ।
किङ्डम नेटवर्कको ब्यानरमा निर्माण भएको सिनेमाको छायांकन नेपालका काठमाडौं, ललितपुर, भक्तपुर, पनौती, लुक्ला तथा सगरमाथा बेस क्याम्पसम्म छायांकन गरिएको छ । सिनेमामा नेपाली कलाकारहरु बुद्धि तामाङ, आशिष पुरुष, अनिता पण्डित, गुणराज श्रेष्ठ लगायतको पनि अभिनय छ । हालै मात्र संयुक्त राज्य अमेरिकामा समेत कम्पनि स्थापना गरी यो सिनेमा निर्माण गरिएको निर्माता सुवास भुसालले बताए ।
सिनेमाको कथा अमेरिकी सैनिक ज्याक स्टेन्टन पात्रको वरिपरि घुम्छ । जसले आफ्नो नेपालमा हराएको साथीलाई बचाउनका लागि सगरमाथा क्षेत्रको खतरनाक यात्रा गर्छ । सिनेमामा मानवीय साहस र सङ्घर्षलाई उतारिएको निर्देशक ट्राभिसले जनाएका छन् । उनले यसअघि हलिउड सिनेमा ‘गेम थेरापी’ निर्देशन गरेका थिए । उनले प्रसिद्ध एमी पुरस्कार समेत जितेका छन् ।
सिनेमाको विश्वव्यापी रिलिजलाई लिएर अहिले छलफल भइरहेको निर्माता भुसालले बताए । सिनेमामा नेपालबाट मनोज जोशीले प्रोडक्सन कन्ट्रोलर तथा विकास सुवेदी लाइन प्रोड्युसरको रुपमा काम गरेका छन् । क्रिस बेरुटीको लेखन रहेको सिनेमामा क्रिससहित गर्रेट म्याडिसन र एन्ड्र्यू ह्युज निर्मातामा छन् । नेपाल छायांकन पूरा गरेर सिनेमाको टिम अमेरिका फर्किसकेको छ ।



प्रतिक्रिया