द सिनेमा टाइम्स, काठमाडौं । आगामी पुष २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘कार्साङ’बाट अभिनेता जितु नेपालको लुक्स सार्वजनिक गरिएको छ । अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको सिनेमाको मंगलबार सार्वजनिक जितुको लुक्स र गेटअप हेर्दा उनी आदिवासी जनजाती समुदायको चरित्रमा रहेको बुझिन्छ ।
अग्लो स्थानको ढुंगामा टुक्रुक्क बसेका उनले हातमा बटुका लिएका छन् । उनले अनुहारको भाव विगारेको देख्दा बटुकामा नशालु पदार्थ हुनसक्ने अनुमान गर्न सकिन्छ । स्टकोट लगाएका उनको शिरमा कालो रंगको टोपी र खुट्टामा गमबुट छ । घुँडामा झोला अड्याएका छन् । पृष्ठभूमिमा भने ग्रामीण भूगोल चित्रित छ । पोस्टर हेर्दा जितुले चरित्र निर्माणमा मिहिनेत गरेको देखिन्छ ।
पोस्टरमा कविता लयको ‘मकै त पिन्ने घट्टामा, पिरती बस्यो ठट्टामा’ भन्ने वाक्य उल्लेख छ । यसबाट जितुको चरित्र चित्रण गरिएको हुनसक्छ । उनको कसैसँग प्रेम बसेको जानकारी दिन खोजिएको छ । ‘वडा नम्बर ६’पछि दयाहाङ र जितुबीच करिब ९ वर्षपछि सहकार्य भएकाले ‘कार्साङ’लाई लिएर दर्शकमा उत्सुकता देखिन्छ ।
शेर्पा समुदायको कथामा आधारित सिनेमामा यम शेर्पाको लेखन तथा निर्देशन रहेको छ । यो उनको डेव्यु निर्देशकिय सिनेमा समेत हो । सिनेमामा सिर्जना निङलेखु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, रविन्द्र झा, कर्मा शेर्पा लगायतको पनि अभिनय छ । सिर्जनाले यही सिनेमाबाट डेब्यु गरेकी हुन् । उनी दयाहाङको श्रीमतीको भूमिकामा छिन् । जितुको जोडी भने दीया मास्केसँग बाँधिएको छ ।
पुरुषोत्तम प्रधानको छायांकन र निर्माण रहेको सिनेमाको प्रस्तुतकर्ता आङ छिरिङ्ग शेर्पा हुन् । सह-निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसरमा वीरेन्द्र शाही छन् । सिनेमाको अन्तराष्ट्रिय वितरण अघिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छ भने देशभर वितरणको जिम्मेवारी आरआर फिल्मसले लिएको छ ।



प्रतिक्रिया