रुचाइयो ‘ह्रस्व दीर्घ’को ट्रेलर, हिन्दी सिनेमालाई टक्कर दिएको दर्शक प्रतिक्रिया

रुचाइयो ‘ह्रस्व दीर्घ’को ट्रेलर, हिन्दी सिनेमालाई टक्कर दिएको दर्शक प्रतिक्रिया

कतिले ट्रेलरको आधारमा सिनेमा ‘सुपरहिट’ हुने उल्लेख गरेका छन् भने कतिले हिन्दी सिनेमालाई टक्कर दिएको धारणा प्रस्तुत गरेका छन् । नेपाली सिनेमाको मेकिङमा परिवर्तन आउन थालेको प्रतिक्रिया सिनेमाको ट्रेलरको कमेन्टबक्समा धेरै देखिन्छ ।

द सिनेमा टाइम्स
175
Shares

द सिनेमा टाइम्स, काठमाडौं । कार्तिक ३० गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ह्रस्व दीर्घ’ कलाकार र मेकिङका कारण चर्चामा छ । अभिनेत्री नीता ढुंगानाको लगानी रहेको सिनेमाबाट सफल द्धन्द्व निर्देशक चन्द्र पन्तले निर्देशनमा डेव्यु गरेका छन् ।

उनले यसअघि केही भोजपुरी सिनेमाको निर्देशन गरिसकेका छन् । जसले गर्दा भोजपुरी सिनेमाका निर्देशक र नेपाली सिनेमाका सफल द्धन्द्व निर्देशकको डेव्यु निर्देशकिय सिनेमा कस्तो बन्यो होला भन्ने कौतुहल्ता नेपाली दर्शकमाझ रहेको सिनेमाको केही दिन अगाडी सार्वजनिक ट्रेलरलाई मिलेको उत्काजनक प्रतिक्रिया हेर्दा नै थाहा हुन्छ ।

त्यसमाथि उनले डेव्यु सिनेमामा नै दक्षिण भारतीय सिनेमाका चर्चित कलाकार तथा बलिउडबाट सिमाटोग्राफर झिकाएर ‘ह्रस्व दीर्घ’ निर्माण गरेका छन् । यसले गर्दा पनि सिनेमा दर्शकको प्रतिक्षामा रहेको बुझ्न ग्राह्रो पर्दैन् । एउटा कमेडी, लभ, सोसियल ड्रामा र इमोसन भएको सिनेमामा हामीले नदेखेको र नसुनेको कहानीलाई एकदमै ठूलो क्यानभासमा देखाएको दाबी निर्देशक पन्तले गर्दै आएका छन् । त्यसकारण पनि यो सिनेमा चर्चाको शिखरमा छ ।

सिनेमा ‘ह्रस्व दीर्घ’मा नेपाली र दक्षिण भारतीय कलाकारहरुको पल्टन नै रहेको छ । पहिलोपटक नेपाली सिनेमामा दुई देशका कलाकारहरुबीच यस किसिमको सहकार्य भएको हो । यसले सिनेमालाई हाइप दिलाउन ठूलो भूमिका खेलेको छ । कलाकारका कारण नै सिनेमाले बक्सअफिसमा सफलता हासिल गर्न सक्ने विश्लेषण सिनेमा पण्डितहरुमाझ भइरहेको छ ।

गत बुधबार ट्रेलर सार्वजनिक भएपछि सिनेमाप्रति दर्शकमा उत्साह चुलिएको छ । ट्रेलरलाई मिलेको भ्यूज र प्रतिक्रिया हेर्दा उत्साहजनक देखिन्छ । सिनेमाको ट्रेलर सार्वजनिक भएको ५ दिनमा ट्रेलरलाई युट्युबमा २१ लाखभन्दा बढीले हेरेका छन् । यो कुनैपनि नेपाली सिनेमाको ट्रेलरलाई मिलेको भ्युज आक्रामक हो । युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा रहेको ट्रेलरलाई यो समाचार तयार पार्दासम्म लगभग ४० हजार लाईक अनि ३ हजार ४ सय बढिले प्रतिक्रिया दिएका छन् । अधिकांश प्रतिक्रियामा दर्शकको तारिफ मात्र भेटिन्छ ।

कतिले ट्रेलरको आधारमा सिनेमा ‘सुपरहिट’ हुने उल्लेख गरेका छन् भने कतिले हिन्दी सिनेमालाई टक्कर दिएको धारणा प्रस्तुत गरेका छन् । नेपाली सिनेमाको मेकिङमा परिवर्तन आउन थालेको प्रतिक्रिया सिनेमाको ट्रेलरको कमेन्टबक्समा धेरै देखिन्छ । अभिनेत्री नीता ढुंगाना, दक्षिण भारतीय कलाकार ब्रह्मानन्दमको प्रशंसामा पनि शब्द खर्चिएका छन् । द्वन्द्व, छायांकन, संवाद, पाश्र्व संगीत पक्ष पनि रुचाइएको छ । सम्रगमा ट्रेलरले दर्शकलाई सन्तुष्ट तुल्याएको दर्शक प्रतिक्रियाबाट बुझिन्छ ।

सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।

नीता फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाको नेपालसहित भारतमा अवस्थित संसारकै ठूलो स्टुडियो रामोजी फिल्म सिटीमा छायांकन गरिएको ‘ह्रस्व दीर्घ’को निर्माणमा ६ करोड खर्च भएको दाबी निर्माण टिमको छ । यो सिनेमा नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।