द सिनेमा टाइम्स, काठमाडौं । नेपाल चलचित्र संघले आफ्ना सदस्यको मानमर्दन गर्ने सिनेमा निर्मातालाई कारबाही गर्ने चेतावनी दिएको छ । सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माताले गलत ब्यापारिक आंकडा उपलब्ध गराएको भन्दै सिनेमा उतार्ने निर्णय गरेपछि संघले आफ्ना सदस्यको मानमर्दन भएको बताएको छ ।
तथ्य प्रमाणबिना आरोप लगाएको भन्दै संघले सेभेज सिज सिनेमालाई सबुत प्रमाणसहित उपस्थित हुन चेतावनी दिएको छ । सिनेमाको ब्यापारको हिसाब माग्ने अधिकार वितरसँग मात्रै भएको पनि संघले स्पष्ट पारेको छ । कुन सिनेमा लगाउने, नलगाउने र उतार्ने अधिकार निर्मातासँग नभएर वितरकसँग हुने पनि संघले जनाएको छ ।
सेभेन सिज नेपालले आफ्नो सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को ग्रसकलेक्सन रिपोर्ट केही हलले फेक देखाएको भन्दै शनिबारबाट हलबाट उतार्ने भन्दै २० वटा हलकको नाम सार्वजनिक गरेको थियो । सेभेन सिजले विज्ञप्ति जारी गर्दै सही हिसाब नदिने हलमा आफ्नो सिनेमा नलगाउने जानकारी दिएको थियो । सेभेन सिजको उक्त निर्णयप्रति असन्तुष्ट संघले आरोप पुष्टि हुने प्रमाण ल्याए त्यस्ता हललाई कारबाही गर्ने पनि बताएको छ ।
‘नेपालभर प्रदर्शन भइरहेको सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माताले २० वटा सिनेमा प्रदर्शकले उपलब्ध गराएको कलेक्सन रिपोर्टमा असन्तुष्टि व्यक्तगर्दै वितरकको सहमति बिना सिनेमा घरहरुमा ‘पूर्ण बहादुरको सारङ्गी’ रोक लगाउने भन्ने आशयको निर्माताको तर्फबाट प्रेषित विज्ञप्तिप्रति नेपाल चलचित्र संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ संघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सिनेमा घरमा चलचित्र प्रदर्शन गर्ने अधिकार बितरकसंग हुन्छ र प्रदर्शकले बितरकसंग मात्र सिनेमा लिई प्रदर्शन गर्न पाउने कानुनी व्यवस्था रहेको छ । सिनेमा घरले सिनेमा प्रदर्शनको व्यापारको विवरण सम्बन्धित सिनेमा वितरकलाई पठाउने गर्दछ । यदि सिनेमाको व्यापारिक विवरणमा चित्त नबुझे निर्माताले सम्बन्धित बितरकसंग छलफलगरी सो बारेमा वितरकमार्फत सिनेमा प्रदर्शकलाई व्यापारिक विवरणमा चित्तन बुझेको बारेमा जानकारी गराई कुनै सिनेमा प्रदर्शकले गलत व्यापारिक तथ्यांक बुझाएको प्रमाण भए सो सिनेमा प्रदर्शक कार्वाहीको भागिदार हुनुपर्छ र नेपाल चलचित्र संघ यसमा सहमत छ र यसको प्रक्रिया हुन्छ ।’
विनाप्रक्रिया, बिना प्रमाण र सम्बन्धित वितरकका साथै सम्बन्धित सिनेमा प्रदर्शकको जानकारी बेगर एकतर्फी रुपमा नेपाल चलचित्र संघका सदस्यहरुको मानमर्दन हुनेगरी चसिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माता सेभेन सिजले जारी गरेको विज्ञप्तिप्रति संघ भर्त्सना गरेको छ । तत्काल माफी माग्दै आफ्नो विज्ञप्ति सच्चाउन निर्माण पक्ष सेभेन सिजलाई संघले आग्रह गरेको छ ।
‘यदि कुनै सिनेमा प्रदर्शकले गलत व्यापारिक तथ्यांक पेश गरेको भए नेपाल चलचित्र संघमा तत्काल ठोस प्रमाणसहित उपस्थित हुन आग्रह गर्दछौं । गलत गरेको सिनेमा प्रदर्शकलाई नेपाल चलचित्र संघले समेत कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं,’ संघले विज्ञप्तिमा भनेको छ, ‘तर बिना प्रमाण हचुवाको भरमा नेपाल चलचित्र संघका सदस्यहरुको मानमर्दन गर्न खोजिएको हो भने नेपाल चलचित्र संघ कडा आपत्ति प्रकट गर्दछ र तत्काल माफी माग्दै आफ्नो विज्ञप्ति सच्चाउन निर्माण पक्ष सेभेन सिजलाई नेपाल चलचित्र संघ आग्रह गर्दछ । अन्यथा नेपाल चलचित्र संघ जुनसुकै कडा कदम चाल्न बाध्य हुनेछौँ । यसबाट पर्ने कुनै पनि असरको जिम्मेवारी स्वयं निर्माण पक्षको हुनेछ ।’




प्रतिक्रिया