भारतीय अभिनेता प्रदीप सिंह रावत नेपालमा, आजदेखि काठमाडौंका हल पुगेर दर्शकसँग साक्षात्कार गर्दै

भारतीय अभिनेता प्रदीप सिंह रावत नेपालमा, आजदेखि काठमाडौंका हल पुगेर दर्शकसँग साक्षात्कार गर्दै

द सिनेमा टाइम्स
224
Shares

द सिनेमा टाइम्स, काठमाडौं । ‘ह्रस्व दीर्घ’मा काम गरेका भारतीय अभिनेता प्रदीप सिंह रावत नेपाल आएका छन् । शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ह्रस्व दीर्घ’ले देशभरका सिनेमा घरमा आक्रामक व्यापार गरेपछि उत्साहित बलिउड कलाकार रावत नेपाल आएका हुन् ।

आइतबार राति श्रीमती कल्याणीसहित नेपाल आइपुगेका रावत ‘गजनी’का भिलेन समेत हुन् । उनले आज काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको निर्देशक चन्द्र पन्तले बताए ।

सिनेमा ‘ह्रस्व दीर्घ’मा उनले अभिनेत्री नीता ढुंगानाको पिताको रुपमा अभिनय गरेका छन् । उनको अभिनयलाई दर्शकले निकै रुचाएको खबर पाएसँगै उनी नेपाली दर्शकसँग साक्षात्कार गर्न उत्साहित रहेको निर्माण टिमले जानकारी दिएको हो । उनी यसअघि यो सिनेमाको छायांकनका लागि नेपालमा आएका थिए ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।

अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा नेपालीसँगै तेलुगु र हिन्दी गरी तीन भाषामा डब गरिएको छ ।

विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गरेको छ ।