‘गजनी’ भिलेन प्रदीप सिंह रावतले गरे दर्शकसँग साक्षात्कार, ‘ह्रस्व दीर्घ’ सानदार बनेको प्रतिक्रिया

‘गजनी’ भिलेन प्रदीप सिंह रावतले गरे दर्शकसँग साक्षात्कार, ‘ह्रस्व दीर्घ’ सानदार बनेको प्रतिक्रिया

द सिनेमा टाइम्स
259
Shares

द सिनेमा टाइम्स, काठमाडौं । बलिउड अभिनेता तथा गजनी भिलेन प्रदीप सिंह रावत यतिबेला प्रदर्शनरत सिनेमा ‘ह्रस्व दीर्घ’को प्रवर्द्धन र दर्शकसँग साक्षात्कार गर्न नेपालमा छन् । आइतबार राती नेपाल आएका उनले सोमबार दिउँसोबाट विभिन्न हलमा पुगरे दर्शकसँग साक्षात्कार गरिरहेका छन् ।

बलिउड अभिनेता प्रदीप सिंह रावत दर्शकसँग साक्षात्कार गर्न सोमबार कमलपोखरीस्थित बिग मुभिजमा सिनेमा हेरिरहेका दर्शकसँग उनले हलभित्रै गएर प्रतिक्रिया लिए । हाउसफुल रहेको हलमा उनको प्रवेश हुँदा दर्शकहरुले हुटिङ गर्दै प्रेम दर्शाएका थिए । उनले दर्शकहरुलाई सिनेमा कस्तो लाग्यो भनेर सोधेका थिए ।

सिनेमा हेरिरहेका अधिकांश दर्शकले बबाल भन्दै हुटिङ गरेका थिए । उनले सिनेमालाई दर्शकहरुले दिएको प्रेम देखेरै आफू नेपाल आएको बताए । उनले भने, ‘म एउटा काममा फसेको थिएँ । त्यो सुटिङ सरेपछि नेपाल आउन मौका मिल्यो । तपाईंहरुलाई भेट्नका लागि नै म आएको हुँ ।’ उनीसँग हलमा फोटो खिच्न दर्शकहरुबीच तछाडमछाड नै चलेको थियो ।

हलभित्र दर्शकसँग साक्षात्कार गरेपछि उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सिनेमा राम्रो चलेको देख्दा खुसी लागेको बताए । ‘निर्मात्री नीता ढुंगाना र लेखक हरिहर अधिकारीको मिहिनेत र त्यागलाई पशुपतिनाथले आशीर्वाद दिनुभएको छ । सिनेमा एकदमै राम्रो चलिरहेको छ । म खुसी छु,’ उनले भने, ‘यो पारिवारिक सिनेमा हो । यसमा कुनै झमेला छैन । म यही भन्छु कि सिनेमा हेर्न पूरै परिवार लिएर आउनुस् । यो सानदार सिनेमा बनेको छ ।’

पत्रकारले नेपाली कलाकार हुँदाको अनुभवबारे पनि उनलाई प्रश्न सोधेका थिए । जसको जवाफमा उनले भने, ‘म नेपाली कलाकार हुनुमा गर्व गर्छु । म पहाडी हुँ । नेपाल पनि पहाड नै छ । यसैले हाम्रो डीएनए मिल्छ । अलिअलि मेरो अनुहार पनि नेपालीसँग मिल्छ । मलाई नेपाली कलाकार बनाइदिनुभएकोमा आभारी छु ।’ उनले भोलिका दिनमा पनि नेपाली सिनेमामा अभिनय गर्ने चाहना रहेको बताए ।

शुक्रबारबाट प्रदर्शनमा आएको ‘ह्रस्व दीर्घ’ले उत्साहजनक व्यापार गरिरहेको छ । सोमबार सरकारले अचानक सार्वजनिक विदा दिएपछि दिउँसोबाट सिनेमाको व्यापार देशभर बढेको छ । सिनेमाले तीन दिनमा २ करोड ७५ लाख कमाई गरेको वितरक मनोज राठीले बताएका छन् । दर्शकबाट सिनेमालाई उत्कृष्ट वर्डअफमाउथ मिलिरहेको छ । जसको फाइदा बक्सअफिसमा मिलिरहेको छ ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।

अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा तेलुगु र हिंन्दी भाषामा पनि रिलिज हुने तयारीमा छ ।