द सिनेमा टाइम्स, काठमाडौं । मंसिर ७ गते भोलि शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘अग्निदहन’को बुधबार साँझ राजधानीमा प्रिमियर गरिएको थियो । प्रिमियरमा सिनेमा हेरेपछि अधिकांश सिनेमाकर्मीले कथावस्तु मनपरेको प्रतिक्रिया दिए ।
बरिष्ठ लोक गायक तथा निर्देशक नारायण रायमाझीले गाउँमा अझै पनि बोक्सी प्रथा कायमै रहेकाले यस्ता सिनेमा अझै धेरै बन्नु पर्ने बताए । राजनीतिकर्मी शंकर तिवारीले अधिकांश सिनेमामा समस्या मात्र देखाइने तर समाधान नदेखाइने प्रचलन भइरहेको समयमा ‘अग्निदहन’मा भने गहिराईमा पुगेर समस्या र समाधान दुवै देखाइएको बताए ।
अभिनेता वीरेन श्रेष्ठले मान्छेको सोचले उसलाई कुन हदसम्म पु¥याउँछ भन्ने कुरालाई सिनेमाले देखाएको बताए । उनले पुरानो कथालाई सटिक ढंगले प्रस्तुत गरिएको भन्दै तारिफ गरे । निर्देशक तथा कलाकार नरेश पौडेलले सिनेमाले समाजमा व्याप्त कुरुतीलाई प्रहार गरेको बताए । उनले सिनेमालाई घिनलाग्दो कुरुतीलाई विद्रोही प्रहारको संज्ञा दिए ।
अभिनेता लोकेन्द लेखकले ‘अग्निदहन’ सामाजिक विकृति विसंगती र खासगरी बोक्सी प्रथा विरुद्ध उठाइएको एउटा सशक्त आवाज रहेको बताए । अभिनेता तेज गिरीले अर्काको लाशमाथि टेकेर पाएको जीवनले मनमा र अर्काको लाशमाथि टेकेर पाएको राजनीतिले जीवनमा कहिल्यै शान्ति मिल्दैन भन्दै सिनेमाको कथावस्तुको तारिफ गरेका थिए ।
यो सिनेमाका परिकल्पनाकार तथा प्रस्तुतकर्ता कोविदशरण उपाध्यायले चाँडै नै तराईका भारतसँग सीमाना जोडिएका जिल्लामा पनि सिनेमा प्रदर्शन गर्ने जानकारी दिए । ‘हामी जहाँ जहाँ पुग्यौं सबैले बोक्सी अन्धविश्वास रहेछ भन्नुभयो’, उनले भने । उपाध्यायले आफूहरुले बोक्सी प्रथाविरुद्ध विभिन्न किसिमका काम गरेको बताउँदै सिनेमामार्फत जनतालाई जागरुक गराउन प्रभावकारी हुने भएकाले सिनेमा निर्माण गरेको बताए ।
घनश्याम लामिछाने निर्देशित सिनेमामा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङको अभिनय छ । सिनेमामा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ ।
सिनेमाको अग्रीम टिकट बुकिङ खुला भैसकेको छ । प्रिमियर शोमा पाएको तारिफले सिनेमाको व्यापारमा पनि फाइदा पुग्ने विश्वास निर्माण टिमको छ ।


प्रतिक्रिया