द सिनेमा टाइम्स, काठमाडौं । मंसिर ७ गते आज शुक्रबारबाट दुई सिनेमा ‘तेल भिसा’ र ‘अग्निदहन’ प्रदर्शनमा आएका छन् । दुवै सिनेमाले फरक-फरक विषयवस्तु उठाएका छन् । आफ्नो छोराको सन्तान हुन लागेपछि नेपालबाट अमेरिका गएकी आमाले त्यहाँ बेहोर्नुपरेको कानुनी झमेलाको कथामा ‘तेल भिसा’ निर्माण भएको छ भने ‘अग्निदहन’मा बोक्सी कुप्रथाविरुद्धको आवाज रहेको छ ।
कथावस्तुको हिसाबले अब्बल देखिएका दुवै सिनेमालाई बक्स अफिसमा चौंथो हप्तामा प्रदर्शनरत ‘पूर्ण बहादुरको सारङ्गी’ र दोस्रो हप्तामा प्रदर्शनरत सिनेमा ‘ह्रस्व दीर्घ’ ठूलो चुनौती रुपमा उभिएका छन् । त्यो चुनौती चिर्न दुवै सिनेमाले दर्शकबाट बलियो वर्ड अफ माउथ र दर्शक अकुपेन्सी उच्च देखिनु पर्ने आवश्यकता छ ।
शंकर घिमिरेको १२ बर्षपछिको कमव्याक सिनेमा ‘तेल भिसा’ले देशभर मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म डेढ सय हाराहारी शो पाएको छ । सिनेमालाई प्राप्त शोलाई अकुपेन्सीमा बदल्नुपर्ने चुनौती छ । बिहानी शोमा दर्शक अकुपेन्सी औषत देखिएको छ । केही हलमा लगभग हाउसफूल भएपनि धेरै हलमा ३० देखि ५० प्रतिसत अकुपेन्सी देखिएको छ । दर्शकबाट ‘वर्ड अफ माउथ’ राम्रो मिलेको खण्डमा दिउँसोबाट सिनेमाले पिकअप लिन सक्ने देखिन्छ ।
सिनेमामा अभिनेता विपिन कार्की बाबु र छोराको गरी दोहोरो भूमिकामा छन् । दर्शकलाई सिनेमाप्रति आकर्षित गर्ने यो महत्त्वपूर्ण आधार मानिएको छ । निर्देशक घिमिरेको नै लेखन रहेको सिनेमामा विपिनसँगै वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमामा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ ।
घनश्याम लामिछानेले ‘अग्निदहन’लाई निर्देशन गरेका हुन् । सिनेमामा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, ताराबहादुर गुरुङ लगायतको अभिनय छ । लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद, दीर्घ गुरुङको छायांकन तथा दीर्घ खड्काको सम्पादन सिनेमामा रहेको छ ।


प्रतिक्रिया