द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री सुहाना थापा सिनेमा ‘परालको आगो’को मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । सिनेमा निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले शुक्रबार सुहानासँग कागजी सम्झौता गरेका हुन् ।
कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथासंग्रह ‘नासो’मा संग्रहित कथा ‘परालको आगो’मा सुहाना गौँथलीको भूमिकामा देखिनेछिन् । ‘ए मेरो हजुर ३’बाट नेपाली रजतपटमा डेब्यु गरेकी सुहानाले पहिलोपटक होम प्रोडक्सनभन्दा बाहिरको सिनेमामा काम गर्न लागेकी हुन् । गत वर्ष उनको मुख्य भूमिका रहेको सिनेमा ‘एक भागवत् एक गीता’मा देखिएकी थिइन् ।
सुहाना अब होम प्रोडक्सनको सिनेमा ‘ए मेरो हजुर ५’मा पनि काम गर्ने तयारीमा छन् । निर्माण टिमले यी दुई सिनेमा मध्य कुन सिनेमा पहिले छायांकन गर्ने खुलेको छैन् । उनले यसअघि अभिनय गरेका तीनवटै सिनेमाको निर्देशन उनकी आमा झरना थापाले गरेकी थिइन् । ‘परालको आगो’लाई भने लक्ष्मण सुनारले निर्देशन गर्नेछन् ।
यो सिनेमामा अनुबन्धित भएपछि सुहानाले खुशी व्यक्त गरेकी छन् । ‘एउटा अमर कृतिमा काम गर्न पाउनु मेरो लागि सौभाग्य हो । यसैले मैले पहिलोपटक घरबाहिरको सिनेमा साइन गरें’, उनले भनिन् । ‘परालको आगा’ेको गौँथली चरित्रले आफूलाई लोभ्याएको सुहाना बताउँछिन् ।
केही दिनअघि मैनाली कथा पुरस्कार ट्रस्टको तर्फबाट कथाकार मैनालीका छोरा माधवप्रसाद मैनालीले निर्माता सुशील पोखरेललाई ‘कथाको भाव र मर्म नबिग्रने गरी’ सिनेमा निर्माणका लागि मञ्जुरी दिएका थिए । यो कथाकार मैनालीको सर्वश्रेष्ठ कथा मानिन्छ । ‘परालको आगो’ कथामा दुई पात्र चामे र गौँथलीको झगडालाई परालको आगोको संज्ञा दिइएको छ ।
आगामी वर्षको दशैंमा प्रदर्शन लक्ष्य राखिएको सिनेमामा सुशील देवकोटा लेखन रहनेछ । करिब ४५ वर्षअघि ‘परालको आगो’ कथामा निर्देशक प्रताप सुब्बाले पनि सिनेमा निर्माण गरेका थिए । यसपटक भने लोकेसन, प्रस्तुतिकरण र पटकथालाई फरक किसिमले प्रस्तुत गरिने निर्माता सुशिल पोखरेलको भनाई छ ।


प्रतिक्रिया