‘मायावी’को प्रदर्शन मिति हेरफेर, अब फागुन १४ गते रिलिज हुने

‘मायावी’को प्रदर्शन मिति हेरफेर, अब फागुन १४ गते रिलिज हुने

द सिनेमा टाइम्स
210
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाईको मुख्य भूमिका रहेको सिनेमा ‘मायावी’को प्रदर्शन मिति दोस्रो पटक हेरफेर भएको छ । गत कात्तिक १५ गतेबाट पोस्टपोण्ड भएर पुष २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको सिनेमा अब फागुन १४ गते महाशिवरात्रीको अवसरमा रिलिज हुनेछ । आइतबार एक पोस्टर सार्वजनिक गर्दै महाशिवरात्रिलाई नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो ।

यो सिनेमाका निर्देशक दीवाकर भट्टराई महाशिवरात्रिमा आफ्नो छायांकनरत नयाँ सिनेमा ‘नरसिंहाः अवतार’ प्रदर्शन गर्ने तयारीमा थिए । तर, यो सिनेमाको छायांकन र पोस्ट प्रोडक्सनमा समय लाग्ने भएपछि उनले ‘मायावी’ रिलिज गर्न लागेका हुन् । फागुन १४ गते सिनेमालाई सोलो रिलिजको अवसर भने मिल्ने छैन । यसअघि नै यो मितिमा ‘सक्किगोनि’ टिमले निर्माण गरिरहेको सिनेमा ‘लाज शरणम्’ले रिलिज घोषणा गरिसकेको छ भने त्यसको दुई दिनपछि फागुन १६ गते शुक्रबारबाट ‘होस्टेल ३’ प्रदर्शनमा आउँदैछ ।

दीवाकर भट्टराई निर्देशित ‘मायावी’को सार्वजनिक पहिलो पोस्टरमा पल शाह र दीपिका प्रसाई फिचर्ड छन् । जसमा समावेश दुई तस्वीरमध्ये एउटामा उनीहरु रोमान्टिक भावमा चित्रित छन् भने अर्कोमा पल भावुक देखिएका छन् । पृष्ठभूमिमा टल्किरहेको हिमालसहित फेवाताल र त्यहाँ तैरिएका एक जोडी डुंगा देख्न सकिन्छ । पोस्टरले सिनेमाको कथा प्रेम र विछोडमा केन्द्रित रहेको संकेत गर्छ ।

क्रियटिभ सिने आट्र्सको ब्यानरमा निर्माण भएको सिनेमा निर्देशक भट्टराई स्वयंको लेखन रहेको छ । सिनेमाको निर्मातामा राज कटुवाल, चन्द्र पन्त र ध्रुव न्यौपाने छन् । सिनेमामा पल र दीपिकासँगै प्रशान्त ताम्राकार, सुशील सिटौला, लक्ष्मी गिरी, राजाराम पौडेल, करिश्मा श्रेष्ठ, अंशु महर्जन, रवि डंगोल लगायतको पनि अभिनय छ । राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर तथा शम्भुजित बाँस्कोटा र एसडी योगीको संगीत सिनेमामा रहेको छ ।