सौगातको ‘बम बहादुर’को टिजरसहित पुष ५ मा रिलिज घोषणा

सौगातको ‘बम बहादुर’को टिजरसहित पुष ५ मा रिलिज घोषणा

द सिनेमा टाइम्स
245
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको सिनेमा ‘बम बहादुर’ आगामी पुष ५ गतेबाट प्रदर्शनमा आउने भएको छ । पुष १० गते परेको इसाई समुदायको मुख्य चाड क्रिसमस डेको विदालाई लक्षित गरेर सिनेमालाई प्रदर्शन गर्न लागिएको हो ।

नेपाल र भारतमा सिनेमा एकसाथ रिलिज हुनेछ । यसअघि गत कार्तिक ३० गतेलाई सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको थियो । नयाँ प्रदर्शन मितिसँगै सोमबार टिजर पनि सार्वजनिक गरिएको छ । जसले सिनेमाको कथासार बुझाउँछ । सिनेमाले ‘गोर्खा ल्याण्ड’को विषयलाई मुख्य कथावस्तु बनाएको बुझिन्छ ।

भारतको दार्जिलिङमा २०७४ सालमा ‘गोर्खा ल्याण्ड’को माग गर्दै ठूलो आन्दोलन भएको थियो । सिनेमाले यही आन्दोलनको विषयलाई उठाएको टिजरले संकेत गर्छ । सिनेमालाई जोन राईले निर्देशन गरेका हुन् । उनले दार्जिलिङ र डुअर्स क्षेत्रका नेपाली समुदायले भोगेको संघर्षको इतिहासलाई डिजिटल दस्ताबेजका रूपमा प्रस्तुत गर्न सिनेमा बनाएको बताए ।

सिनेमामा मनोरञ्जनात्मकसहित सन्देशमूलक कथा रहेको निर्देशक राईको दाबी छ । सिनेमाले दर्शकलाई सस्पेन्स, थ्रिल, रोमान्स र सोसल ड्रामाको अनुभव गराउने विश्वास निर्माण टिमको छ । सञ्जीव सार्की निर्माता रहेको सिनेमामा जोन राई र रुपेश तामाङको कथा र पटकथा लेखन अनि सुजोय कुमार घोष ‘मुन्ना’को छायांकन छ ।

बिस्ट ब्रदर्स फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा सौगातसहित कलाकारहरू प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिष्ट कार्की, सुरेश पन्चकोटी लगायतको पनि अभिनय छ । सिनेमाको वितरण रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछन् ।