बैशाख २६ मा विपिन र मिरुनाको ‘ऊनको स्वीटर’ रिलिज घोषणा

बैशाख २६ मा विपिन र मिरुनाको ‘ऊनको स्वीटर’ रिलिज घोषणा

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको सिनेमा ‘ऊनको स्वीटर’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार एक पोस्टर सार्वजनिक गर्दै सिनेमाको आगामी बैशाख २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।

सिनेमाको सार्वजनिक पोस्टरमा डोको बोकिरहेका विपिनले हातमा डायरी समातेका छन् । पोस्टरमा मन्द मुस्कानमा मिरूनालाई खुशी भावमा प्रस्तुत गरिएको छ । सिनेमामा विपिन र मिरुनासँगै सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ ।

आर्टमाण्डूको ब्यानरमा निर्माण भएको सिनेमालाई नवीन चौहानले निर्देशन गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो । उनले यसअघि निर्देशन गरेका म्युजिक भिडियोहरु ‘घुमी घुमी’, ‘देखेर तिमीलाई’, ‘तीनपाते’, ‘फूलथुङ्गे रानी’, ‘चन्द्रमा’ले लोकप्रियता हासिल गरेका थिए । सिनेमालाई निर्देशक चौहानले नै लेखेका हुन् भने लेखन सहकार्यमा सुरज कटुवाल रहेका छन् ।

सिनेमाको सम्पुर्ण छायांकन पाँचथर र नेपाल भारत सिमाना फालेलुङमा गरिएको हो । सिनेमाको ओएसटी गीत ‘फूल’ हिट भइसकेको छ । सिनेमाका संगीत निर्देशक सुजन चापागाई र संगीत निर्माण तथा ब्याकग्राउण्ड म्युजिक कोबिद बज्रले तयार गरेका छन् । सिनेमाका गीतकार हर्क साउद र युवराज काफ्ले, संगीतकार सुजन चापागाई र झुमा लिम्बु हुन् ।

सिनेमाको एशोसियट निर्मातामा केन्द्र मोशन पिक्चर्स र सह-निर्मातामा साहाङ्ग चेम्जोङ, आशिष रिजाल, राजकुमार राई, प्रकाश बस्नेत र सन्तोष न्यौपाने अनि कार्यकारी निर्मातामा सागर बुढाथोकी र मिलन खत्री छन् । रोशन बिक र डिप गुरुङ्गको कोरियोग्राफी, चिन्तन राजभण्डारीको सिनेमाटोग्राफी र कृष्ण भण्डारीको सम्पादन सिनेमामा रहनेछ । काफिया फिल्मस् र कुबेर सिने डिस्ट्रीब्युसनले सिनेमाको वितरण गर्नेछन् ।