सकारात्मक वर्डअफ माउथले ‘तेल भिसा’मा दर्शकको चाप बढ्दै

सकारात्मक वर्डअफ माउथले ‘तेल भिसा’मा दर्शकको चाप बढ्दै

द सिनेमा टाइम्स
1.2k
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘तेल भिसा’ले बक्सअफिसमा सुखद् व्यापार गरिरहेको छ । पहिलो तीन दिनमा १ करोड ३६ लाख बढि ग्रसकलेक्सन गरेको सिनेमाले वीक डेमा पनि राम्रो व्यापार गरिरहेको छ । पहिलो हप्ताको कलेक्सन रिपोर्ट शुक्रबार सार्वजनिक गर्ने तयारी भैरहेको वितरक करण श्रेष्ठले बताए ।

सुुरुवती दिनबाट नै सुखद् व्यापार गरिरहेको सिनेमाले वीक डेमा पनि त्यसलाई निरन्तरता दिएको छ । हलमा दर्शकको वर्डअफ माउथको प्रभाव देखिरहेको हुँदा सिनेमाको निर्माण टिम दैनिकजसो कुनै न कुनै सिनेमा हलमा पुगेर दर्शक प्रतिक्रिया लिरहेको छ । दर्शकबाट मिलिरहेको उत्कृष्ट वर्डअफ माउथले निर्माण टिम उत्साहित देखिन्छ । सिनेमाकी अभिनेत्री तथा प्रस्तुतकर्ता ऋचा घिमिरे सिनेमाले वितारै पिकअप लिरहेको बताएकी छवि।

सोमबारदेखि सिनेमाको प्राप्त शोमा अकुपेन्सी बढिरहेको छ । बुधबार सिनेमाको व्यापारमा अझ सुधार हुने देखिन्छ । काठमाडौंका एफक्युब, बिग मुभिज, वान सिनेमाज्ज सिके सिनेमाज, क्यूएफएक्सको भाटभटेनी, लबिम, आईएनआइको एनवी सेन्टर, मिडटाउन पोखरा, सिनेरोयल नेपालगञ्जमा दिउँसोदेखि साँझसम्मका शोमा दर्शक अकुपेन्सी राम्रो देखिएको छ । विशेषगरीः आज बुधबार र भोली बिहीबार देशभरका हलमा अन्य दिनको तुलनामा टिकट मुख्य कम हुने भएकाले पनि हलमा दर्शकको चाप बढेको देखिन्छ ।

सिनेमाका मुख्य अभिनेता विपिन कार्कीले प्रदर्शनको दिनदेखि नै काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेका छन् । दर्शकबाट प्राप्त प्रतिक्रियाले उनी उत्साहित पनि छन् । सिनेमामा उनी बाबु र छोराको गरी दोहोरो भूमिकामा प्रस्तुत छन् । यही कारण पनि उनका लागि ‘तेल भिसा’ विशेष थियो । उनलाई छोराभन्दा बुबाको भूमिकामा दर्शकले बढी रुचाएका छन् ।

सिनेमाबाट सबैभन्दा बढी वाहवाही भने अभिनेत्री पूजा चन्द र ऋचा घिमिरेको भइरहेको छ । पूजाले आमाको भूमिकामा उम्दा अभिनय गरेकी छन् । हलमा दर्शकलाई बाँधिराख्ने नै उनको अभिनयले हो । यता अर्की अभिनेत्री ऋचा घिमिरे पनि सिनेमामा प्रभावशाली देखिएकी छन् । छोराको सन्तान हुन लागेपछि नेपालबाट अमेरिका गएकी एक आमाले बेहोर्नुपरेको कानुनी झमेलाको कथा सिनेमाले उठाएको छ ।

उनीहरुका अलवा अभिनेत्री वर्षा राउतको अभिनयको पनि उत्तकै तारिफ भैरहेको छ । सिनेमामा उनले छुच्ची गर्भवती महिलाको चरित्र निवार्ह गरेकी छन् । जसमा उनी फिट देखिएको प्रतिक्रिया दर्शकले दिइरहेका छन् । वर्षा पारिवारिक समस्याका कारण अन्य कलाकार जसरी हल पुगेर दर्शक प्रतिक्रिया लिन पाएकी छैनन् । गत सोमबार पारिवारिक समस्याका बावजुद हल पुगेको समयमा आफुले चाहे जसरी सिनेमालाई समय दिन नसकेको र दर्शकसँग साक्षात्कार गर्न नपाएको भन्दै निर्माण टिम र दर्शकसँग माफि समेत मागेकी थिइन् ।

शंकर घिमिरे निर्देशित सिनेमामा अभिनेता विपिन कार्की बाबु र छोराको गरी दोहोरो भूमिकामा छन् । दर्शकलाई सिनेमाप्रति आकर्षित गर्ने यो महत्त्वपूर्ण आधार मानिएको छ । निर्देशक घिमिरेको नै लेखन रहेको सिनेमामा विपिनसँगै वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमामा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ ।