द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमाको मोफसल वितरक कम्पनि कुवेर सिने डिष्ट्रब्युसनले बुटवलमा नयाँ हल सञ्चालनमा ल्याएको छ । यसअघि धरानमा फ्रेण्डस् सिनेमाज् सञ्चालन गरिरहेको कम्पनिले बुटवलमा आफ्नो दोस्रो आउटलेट सञ्चालनमा ल्याएको सञ्चालक मध्येका एक प्रदीप धामीले बताए ।
शुक्रबारबाट सञ्चालमा आएको हलमा एउटा मात्र अडिटोरियम रहेको छ । बुटवलको अमरपथस्थित सिंह कम्प्लेक्समा रहेको हलमा २२२ सिट क्षमता रहेको छ । पहिले भ्युज सिनेमाज् रहेको हललाई नै फ्रेण्डस् सिनेमाज्मा परिवर्तन गरिएको अर्का सञ्चालक आशिष तामाङले बताए ।
सिनेमा वितरणमा सक्रिय रहेका आशिष, प्रदीप र पुष्कर घिमिरे हलको सञ्चालक हुन् । ‘फ्रेण्डस् सिनेमाज्’को ब्रान्ड देशभर विस्तार गर्ने उद्देश्यसहित बुटवलमा दोस्रो हल सञ्चालनमा ल्याइएको सञ्चालक घिमिरेले बताए । यो हललाई नयाँ व्यवस्थापन, अत्याधुनिक प्रविधि जडान तथा विविध सेवा-सुविधा र सहुलियतसहित नयाँ रुप दिइएको उनी बताउँछन् ।
अबको एक हप्ताभरी हल सञ्चालनको अवसरमा रिलिज भएका हरेक सिनेमाको टिकट दर १५० रुपैयाँ तोकिएको छ । यो हलमा दैनिक ६ शोसम्म चलाउन सकिने छ । अहिले यो हलमा ‘पूर्ण बहादुरको सारङ्गी’, ‘ह्रस्व दीर्घ’, ‘अग्निदहन’ र ‘तेल भिसा’ प्रदर्शन भइरहेका छन् ।
यसअघि ‘फर्की फर्की’, ‘खुस्मा’, ‘१२ गाउँ’ जस्ता सफल सिनेमा वितरण गरिसकेको कुवेर सिने डिस्ट्रिब्यूसनको रिलिज पाइपलाइनमा विपिन र मिरुना मगरको ‘ऊनको स्वीटर’, सन्तोष सेन निर्मित ‘बलिदान’, सिनेमा आर्टस्को व्यानरमा निर्माण भैरहेको ‘रेशम फिरिरी’ लगायतका सिनेमा छन् ।


प्रतिक्रिया