कसरी हुँदैछ ‘पिताम्बर’को छायाँकन ? क्यारेक्टर लुक्स लुकाउँदै निर्माणपक्ष

कसरी हुँदैछ ‘पिताम्बर’को छायाँकन ? क्यारेक्टर लुक्स लुकाउँदै निर्माणपक्ष

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं । कृषा चौलागाईंले निर्देशन गरिरहेको सिनेमा अहिले छायाँकनमा छ । कृषाको ड्रिम प्रोजेक्ट ‘पिताम्बर’ अहिले चौथो सेड्युल अन्तर्गत  छायाँकन अन्तिम दिनमा छ ।

निर्माणपक्षले यो सिनेमामा छायाँकनमा कडा मिहिनेत गरिरहेको छ । मंहगो सेट तयार पारेर सिनेमाको छायाँकन भइरहेको छ । सिनेमाको छायाँकनका तस्बिर सिनेमेटोग्राफर पुरुषोत्तम प्रधान र निर्देशक कृषाले सामाजिक सञ्जालमा पोस्ट गरिरहेका हुन्छन् ।

छायाँकनका तस्बिर हेर्दा छायाँकनमा निर्माणपक्षले कुनै कसर नराखेको अनुमान लगाउन सकिन्छ । यसले सिनेमाको प्राविधिक पक्ष निकै सशक्त हुने संकेत गरेको छ ।

निर्माणपक्षले छायाँकनका तस्बिर पोस्ट गरे पनि ती तस्बिरमा कलाकार भने देखिँदैनन् । निर्देशक, सिनेमेटोग्राफर र अन्य प्राविधिक मात्रै तस्बिरमा देखिन्छन् ।

यसले कलाकारको क्यारेक्टर लुक्स बाहिरिएला कि भन्नेमा निर्माणपक्ष सचेत देखिएको छ । एकपटक मुख्य कलाकार एकै ठाउँमा बसेको तस्बिर सार्वजनिक भए पनि त्यसमा कुनै पनि कलाकार क्यारेक्टर लुक्समा थिएनन् ।

‘पिताम्बर’ स्टार कलाकारहरूको बलियो लाइनअप भएको सिनेमा हो । अहिलेका नेपाली सिनेमा उद्योगका एक सय एक स्टार कलाकार लिएर कृषाले सिनेमा निर्देशन गरिरहेकी छन् ।

बलियो लाइनअप रहेको सिनेमामा सौगात मल्ल, प्रदीप खड्का, आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी लगायतको कलाकारको अभिनय रहनेछ । कलाकारको यो लाइनअपले सिनेमा केही फरक र स्पेसल रहेको संकेत गरेको छ ।

‘पिताम्बर’को पहिलो चरणको छायाँकन नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै भएको थियो । सिनेमाको पहिलो सेड्युलमा अभिनेत्री सुरक्षा पन्त, अभिनेता अनुप विक्रम शाही, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, दिव्य देव, सुपुष्पा भट्ट, विशाल पहारी, गौरव बिष्ट र बालकलाकारको भागको छायाँकन भएको थियो ।

अभिनेता प्रदीप खड्का ,सौगात मल्ल र दयाहाङ राई दोस्रो सेड्युलमा जोडिएका छन् । सिनेमामा प्रदीप एक्सन भूमिकामा देखिनेछन् ।

केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको पिताम्बरलाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् । सिनेमाको निर्मातामा विशाल चौलागाईं छन् ।

प्रदीप भारद्धाजको लेखन रहेको सिनेमालाई निर्देशक चौलागाईंले लार्ज स्केल बनाउँदैछिन् । सिनेमाको बजेट ५ करोड अनुमान गरिएको छ । यसअघि उनले ‘ऐंचो पैंचो’ निर्देशन गरेकी थिइन् ।

Pitambar