दीलिप र सलोनको ‘रंगी’ २६ दिनमा प्याकअप

दीलिप र सलोनको ‘रंगी’ २६ दिनमा प्याकअप

द सिनेमा टाइम्स
175
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता दीलिप रायमाझी र सलोन बस्नेतको मुख्य भूमिका रहेको सिनेमा ‘रंगी’को छायांकन सकिएको छ । छायांकन सुरु भएको २६औं दिनमा सिनेमा ‘प्याकअप’ भएको हो । एक महिनाको सेड्युल राखिएको भएपनि निर्धारित समयभन्दा ४ दिनअघि नै सिनेमाको छायांकन पूरा भएको निर्देशक सुरेश न्यौपानेले बताए ।

शुक्रबार बनेपामा अवस्थित चण्डेश्वरी मन्दिरमा सिनेमाको एक गीत खिचिएको थियो । कविराज गहतराजको कोरिग्राफीमा तयार भएको ‘छ भने माया’ बोलको गीतमा दीलिप र सलोनसहित सिनेमाकी मुख्य अभिनेत्री तथा पूर्वमिस नेपाल नम्रता श्रेष्ठ र बाल कलाकार आयुषी ढकालले नृत्य गरेका छन् । गीतमा दुर्गेश थापाको शब्द तथा संगीत रहेको आनन्द कार्की र सुजता केसीको स्वर छ ।

सिनेमाको छायांकन सकिएसँगै माल्टा प्रदर्शन अधिकार बिक्री भएको छ । मगवोर्ट प्रोडक्सनले सिनेमाको माल्टा राइट्स खरिद गरेको हो । यसअघि मध्यपूर्व र मलेसियामा पनि सिनेमाको प्रदर्शन अधिकार बिक्री भइसकेको दाबी निर्माण कम्पनिको छ । यसरी हेर्दा विदेशमा सिनेमाको राम्रो माग देखिएको छ । यो निर्मातालाई ठूलो राहत पुग्ने देखिन्छ ।

सिनेमामा उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी लगायतको पनि अभिनय रहेको छ । सक्षम सुवेदीको निर्माण रहेको सिनेमामा सुमन गजमेरको कथा लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत तथा कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी छ ।