द सिनेमा टाइम्स, काठमाडौं । आगामी पुष २६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘कार्साङ’को टिजर सार्वजनिक भएको छ । गाउँमा धामी बसेको सेटअपबाट सुरु हुने टिजरमा गरिबी, अभाव, निःसन्तानपनले दिएको सास्ती र त्यसले दाम्पत्य जीवनमा सृजना गर्ने द्धन्द्वलाई समेटिएको छ ।
सिनेमाको टिजरले गरिबीका कारण कसरी आम मान्छे आफ्नै दाजुभाइ र समाजबाट हेपिन्छन् त्यसको कथा ‘कार्साङ’ले भन्ने संकेत गरेको छ । सन्तान नजन्मिएपछि श्रीमान्-श्रीमतीले एकअर्कालाई गर्ने दोषारोपणको कथा रहेको सार्वजनिक टिजरबाट बुझिन्छ ।
‘कार्साङ’लाई यम शेर्पाले निर्देशन गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो । सिनेमाको कथा पनि निर्देशक शेर्पा आफैंले लेखेका हुन् । शेर्पा समुदायको संस्कृतिमा आधारित सिनेमामा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङको मुख्य भूमिका रहेको चलचित्रमा सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, पवन कुमार गोले, अमृत शेर्पालगायत कलाकारको अभिनय रहेको छ ।
यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका छायांकार पुरुषोत्तम प्रधान निर्माता पनि हुन् । सिनेमाको सह–निर्माता गोविन्द बोहरा र कार्यकारी निर्मातामा आङछिरिङ शेर्पा अनि लाइन प्रोड्युसरमा वीरेन्द्र शाही छन् ।
सिनेमामा भूपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको रङ ग्रेडिङ, शाहिल खानको टिजर र ट्रेलर, राजु तामाङको मेकअप, अभि लामाको कोरियोग्राफी, मुकेश शाहको ध्वनि, सुदीप कुँवर, राम कुमार श्रेष्ठ र योगेन्द्र कार्की प्रमुख सहायक निर्देशन रहेको छ । ‘कार्साङ’को अन्तर्राष्ट्रिय वितरक अधिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छन् । नेपालमा आरआर फिल्मस्ले वितरण गर्नेछ ।


प्रतिक्रिया