फागुन २ बाट पोष्टपोण्ड भयो सुयोग गुरुङ निर्देशित ‘जेरी अन टप’

फागुन २ बाट पोष्टपोण्ड भयो सुयोग गुरुङ निर्देशित ‘जेरी अन टप’

द सिनेमा टाइम्स
644
Shares

द सिनेमा टाइम्स, काठमाडौं । फागुन २ गते भ्यालेन्टाइन डेको अवसरमा प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘जेरी अन टप’ पोष्टपोण्ड भएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमाको निर्धारीत समयमा छायांकन नसकिने भएपछि रिलिज स्थगित गरिएको निर्माता सरोज न्यौपानेले बताए ।

तिहार अगाडी काठमाडौंबाट छायांकन सुरु गरिएको सिनेमाको केही दिन अगाडी लुक्ला सेड्युलका छायांकन सकेर अहिले सिनेमाको काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा छायांकन भैरहेको छ । यसपछि सिनेमाको मुस्ताङ र भारतको लद्दाखमा छायांकन गर्ने तयारी भैरहेको निर्माता न्यापानेले जानकारी दिए । सिनेमा भिएफएक्स लगायतका प्राविधिक काममा समय लाग्ने भएकाले फागुन २ को मिति छाड्नु परेको उनको भनाई छ ।

सुयोग गुरुङको निर्देशनमा निर्माण हुने सिनेमामा अनमोल केसी, आँचल शर्मा, जसिता गरुङ केदार घिमिरे (माग्ने बुढा), विपना थापा, भुवन केसी, सुरक्षा पन्त, निर्मल शर्मा, संगीता मगर, सुष्मा निरौला लगायतका कलाकारको पनि अभिनय रहनेछ । सिनेमामा भुवन र विपनाले अनमोलको बुबा-आमाको भूमिका निर्वाह गर्नेछन् । १८ वर्षपछि उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

सिनेमाको कथा हेमराज बिसीको हो भने विश्व तिमिल्सेनाको पटकथा लेखन रहेको छ । सिनेमाको संवाद लेखनमा निर्माण टिमले साइग्रेस पोखरेलसँग पनि सहकार्य गरेको छ । सिनेमाको निर्माणमा सरोज न्यौपानेलाई दीपक भण्डारी, रोबिन सेरचन, रामकृष्ण श्रेष्ठले सघाएका छन् । इश्वर श्रेष्ठ र अनिरुद्र गिरी कार्यकारी निर्माता रहेको सिनेमामा ओमप्रकाश अग्रवाल र विवेक थापा एसोसिएट निर्माताको रुपमा रहेका छन् ।

अनन्या फिल्म्स र भण्डारी मल्टिट्रेडको ब्यानरमा निर्माण हुने सिनेमामा उज्जवल जोशीको छायांकन रहने सिनेमामा सुरेन्द्र पौडेलको सम्पादन रहनेछ ।