द सिनेमा टाइम्स, काठमाडौं । मिलन चाम्सको निर्देशनमा निर्माण भएको सिनेमा ‘अञ्जिला’की मुख्य अभिनेत्री तथा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान गोलरक्षक एञ्जिला तुम्बापो सुब्बालाई ग्रिसको ए डिभिजन क्लब नीस एट्रोमिटोउमा खेल्नका लागि निर्माण टिमले बिदाइ गरेको छ ।
बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा २०२४/२५ सिजनका लागि अनुबन्ध भएकी एञ्जिलालाई विशेष सम्मानसहित बिदाइ गरियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङ, नेपालकी पहिलो महिला फुटबल टिमकी कप्तान रमा सिंह, राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङ र फुटबल खेलाडी संघ का अध्यक्ष विक्रम लामा लगायत नेपाली खेलकुद क्षेत्रका विशिष्ट व्यक्तिहरू उपस्थित थिए ।
सिनेमाको पत्रकार सम्मेलनमा ‘अञ्जिला’को वल्र्ड प्रिमियर मङ्सिर २३, २०८१ (डिसेम्बर ८) मा हङकङमा आयोजना गरिने जानकारी गराइयो । निर्देशक चाम्स र एञ्जिला सुब्बा प्रिमियरमा सहभागी हुनेछन् । हङकङमा टिकट बिक्री एक हप्तामै सोल्ड आउट भइसकेको उल्लेख गर्दै निर्देशक चाम्सले दर्शकहरूको चासो र उत्साहप्रति आभार व्यक्त गरेका थिए ।
हङकङ पछि सिनेमाको प्रिमियर जनवरी १८, २०२५ मा अस्ट्रेलिया, जनवरीको अन्त्यतिर जापान, फेब्रुअरी १५ मा युके र मार्च २ मा कोरियामा गरिनेछ । फागुन २९ गतेदेखि नेपालसँगै विश्वभर सिनेमा एकसाथ प्रदर्शन गरिने कार्यक्रममा जानकारी दिइयो ।
प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङले एञ्जिलाको संघर्ष र सफलता नेपाली खेलकुद र सिनेमाको लागि प्रेरणादायी भएको बताए । नेपाली महिला फुटबल टिमकी प्रथम कप्तान रमा सिंहले यो सिनेमालाई ऐतिहासिक प्रयासको रूपमा विश्लेषण गरिन् । राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङले यो सिनेमालाई नेपाली फुटबलको ऐतिहासिक उपलब्धि भएको उल्लेख गरेका छन् ।
‘अञ्जिला’की मुख्य अभिनेत्री एञ्जिलाले पहिलो पटक युरोपमा खेल्ने अवसर पाएकोमा अत्यन्तै खुसी रहेको बताइन् । सिनेमा ‘अञ्जिला’ उनको जीवन संघर्ष र सफलतामा आधारित छ । सिनेमा एञ्जिला आफैं मुख्य भूमिकामा देखिएकी छिन् । सिनेमामा एञ्जिलासँगै सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ र बुद्धि तामाङ छन् ।
सिनेमाका निर्माता प्रेम कुमार श्रेष्ठ र सह-निर्माताहरूमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया छन् । सिनेमाको छायांकन सुदीप बराल् सम्पादन मिलन श्रेष्ठले गरेका हुन् । नेपाली खेलकुद र सिनेमा दुवै क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने उद्देश्यका साथ निर्माण गरिएको ‘अञ्जिला’मा एञ्जिलाको जीवन कथा रहेतापनि पूर्ण बायोपिक भने नभएको निर्देशक चाम्सले बताए ।



प्रतिक्रिया