दर्शकबाट उच्च माग आएकाले सोमबारबाट ‘तेल भिसा’को शो बढ्छ : ऋचा घिमिरे

दर्शकबाट उच्च माग आएकाले सोमबारबाट ‘तेल भिसा’को शो बढ्छ : ऋचा घिमिरे

द सिनेमा टाइम्स
350
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आज शुक्रबारबाट तेस्रो हप्तामा प्रवेश गरेको सिनेमा ‘तेल भिसा’ दक्षिण भारतीय बहुप्रतिक्षित सिनेमा ‘पुष्पा २ : द रुल’का कारण न्युन शोमा खुम्चिन पुगेको छ । नेपाली सिनेमा हलले अधिकांश शो दक्षिण भारतीय सिनेमा ‘पुष्पा २’ लाई दिएपछि दर्शकको राम्रो साथ र सकारात्मक वर्डअफ माउथ पाइरहेको सिनेमा ‘तेल भिसा’ न्युन शोमा चित्त बुझाउन बाध्य भएको हो ।

दोस्रो हप्ताको बिहीबार पनि हाउसफूल भएपछि दर्शक प्रतिक्रिया लिन हल पुगेको निर्माण टिमले दक्षिण भारतीय सिनेमाको दबदबाका बीच तेलभिसा हाउसफूल हुन अर्थपूर्ण भएको जानकारी दिएको छ । सिनेमाकी प्रस्तुतकर्ता तथा अभिनेत्री ऋचा घिमिरेले आफ्नो सिनेमाको सोमबारबाट शो थपिदै जाने दाबी समेत गरेकी थिइन् । तेस्रो हप्तामा दर्शकबाट सिनेमाको उच्च माग आइरहेकाले पनि सोमबारबाट शो बढाउन पर्ने दबाबमा हल सञ्चालक रहेको उनको भनाई थियो ।

शंकर घिमिरे निर्देशित सिनेमामा अभिनेता विपिन कार्की बाबु र छोराको गरी दोहोरो भूमिकामा छन् । दर्शकलाई सिनेमाप्रति आकर्षित गर्ने यो महत्त्वपूर्ण आधार मानिएको छ । निर्देशक घिमिरेको नै लेखन रहेको सिनेमामा विपिनसँगै वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमामा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ ।