द सिनेमा टाइम्स, काठमाडौं । निर्माता रोज राणाले शुक्रबार विकास बोर्डबाट सिनेमा ‘खलनायक २’को निर्माणको इजाजत लिएर १६ वर्ष अघिको सुपरहिट सिनेमा ‘खलनायक’को दोस्रो शृंखला निर्माण तयारी थालेका छन् । त्यो बेला यो सिनेमामा महानायक राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट र झरना थापाको मुख्य भूमिका रहेको थियो । अब ‘खलनायक २’मा उनीहरु दोहोरिन्छन् वा दोहोरिँदैनन् निर्माण टिमले खुलाएको छैन् ।
निर्माता राणाले २०७६ सालमा यो सुपरहिट सिनेमाको दोस्रो श्रृंखला निर्माण घोषणा गरेका थिए । तर, त्यही समयमा कोरोना महामारी फैलिएपछि सिनेमा निर्माण हुन सकेको थिएन् । पछि रोज प्रदेश सांसदका लागि चुनावमा होमिए । चुनाव जितेर मन्त्री समेत भइसकेका उनी अब भने ‘खलनायक २’ निर्माणको तयारीमा जुटेका हुन् ।
निर्माता रोज राणाले ‘खलनायक २’ निर्देशनको जिम्मेवारी ‘ह्रस्व दीर्घ’का निर्देशक चन्द्र पन्तलाई सुम्पिएका छन् । यद्यपि, दुवै पक्षबीच कागजी सम्झौता हुन बाँकी छ । द्वन्द्व निर्देशनको रुपमा स्थापित चन्द्रले केही भोजपुरी सिनेमा समेत निर्देशन गरिसकेका छन् । निर्देशक चयनसँगै शुक्रबार नै चलचित्र विकास बोर्डबाट सिनेमा निर्माणको इजाजत लिइएको हो ।
आगामी माघबाट छायांकन सुरु गरेर सिनेमालाई अर्को वर्ष रिलिज लक्ष्य राखिएको छ । एक्सन र लभस्टोरी जनरामा निर्माण हुन लागेको सिनेमामा अहिलेसम्म कलाकार भने निश्चित भएका छैनन् । यतिबेला स्क्रिप्ट लेखनको काम भइरहेकाले चाँडै कलाकार छनोट प्रक्रिया अगाडि बढ्ने निर्माता राणाले बताए ।
ठूलो क्यानभासमा निर्माण गर्न लागिएको सिनेमामा दयाराम पाण्डेको गीत लेखन रहनेछ । ‘खलनायक’मा उनले लेखेको ‘मागेर पाउने भए म’ गीत लोकप्रिय मानिन्छ । प्राप्त जानकारी अनुसार सिनेमामा तीनजना नायक रहनेछन् । अभिनेत्री पनि तीनजना रहन सक्ने सम्भावना छ । खलपात्रमा भने बलिउडबाट कलाकार झिकाउने तयारीमा निर्माण टिम छ ।


प्रतिक्रिया