फागुन २४ गते सुर्खेतमा ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को आयोजना हुने

फागुन २४ गते सुर्खेतमा ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को आयोजना हुने

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमाको प्रवद्र्धन र कर्णाली प्रदेशको पर्यटन विकासलाई टेवा र्पुयाउने उद्देश्यले ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को आयोजना हुने भएको छ । रेड चेरी मिडियाले आगामी फागुन २४ गतेदेखि सुरु हुने महोत्सवको आयोजना गर्ने भएको हो ।

यो महोत्सवले ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारालाई मूर्त रूप दिने प्रयास गर्दै कर्णालीको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, र पर्यटकीय सम्भावनालाई विश्वसामु चिनाउने लक्ष्य लिएको छ । महोत्सव निर्देशक चक्रबहादुर चन्दका अनुसार कर्णालीको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने योजना बनाएको बताए ।

यसपटक हामीले यो महोत्सव मार्फत् जलवायु परिवर्तनका मुद्दाहरूलाई समेत प्राथमिकतामा राख्दै ‘रारा सिनेमा पर्यटन तथा जलवायु परिवर्तन समिट’ आयोजना गर्ने तयारी समेत गरेका छौं । महोत्सवका कार्यक्रमहरूमा सिनेमा प्रदर्शन, कार्यशाला, अन्तरक्रिया र अवार्ड समारोह जस्ता विविध गतिविधि समेटिएका छन् ।

अभिनेता प्रदिप खड्का र अभिनेत्री सुरक्षा पन्तलाई महोत्सवका सद्भावना दूतका रूपमा नियुक्त गरिएको छ । खड्काले महोत्सवले सिनेमालाई पर्यटन प्रवद्र्धनको शक्तिशाली माध्यमका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका थिए । अभिनेत्री पन्तले कर्णालीसँगको आफ्नै सम्बन्धलाई सिनेमा ‘बुलाकी’ मार्फत अनुभव गरेको बताइन् । उनले यो महोत्सवले कर्णालीको कथालाई अझ उजागर गर्न सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।

दोस्रो संस्करणको महोत्सव कर्णाली प्रदेशको राजधानी सुर्खेतमा फागुन २४ गते औपचारिक रूपमा उद्घाटन हुनेछ । चैत्र १६ गते काठमाडौंको नेपाल पर्यटन बोर्डमा ‘कर्णाली अन्तर्राष्ट्रिय सिनेमा पर्यटन तथा जलवायु अवार्ड समारोह’ हुनेछ भने चैत्र ३० गते मुगुको रारा ताल प्राङ्गणमा ‘रारा सिनेमा पर्यटन तथा जलवायु समिट’ आयोजना हुनेछ ।

चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, र नेपाल उद्योग वाणिज्य महासंघलगायत विभिन्न सरकारी र गैरसरकारी निकायहरूको सहकार्यले महोत्सवलाई थप बलियो बनाएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सवलाई सिनेमा पर्यटन प्रवद्र्धनको महत्त्वपूर्ण माध्यमका रूपमा वर्णन गर्दै यसले नेपालको पर्यटन विकासमा उल्लेखनीय योगदान गर्ने अपेक्षा राखे ।