द सिनेमा टाइम्स, काठमाडौं । सेभेन सिज सिनेमाजले निर्माण गरेको प्रदर्शनरत सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को आज सोमबारबाट रिलिज स्थगित गर्ने निर्णयबाट निर्माण कम्पनि पछि हटेको छ । दक्षिण भारतीय सिनेमा ‘पुष्पा २’ प्रदर्शनमा आएपछि ‘पूर्णबहादुरको सारङ्गी’लाई हलहरुले न्यून शोमा खुम्चाएका थिए । जसप्रति असन्तुष्टि जनाउँदै शनिबार विज्ञप्तिमार्फत् निर्माताले आज सोमबारबाट सिनेमाको प्रदर्शन रोक्ने घोषणा गरेका थिए ।
सिनेमाका निर्माताको निर्णय मान्न वितरक तयार भएनन् । सिनेमाको प्रदर्शन नरोक्न भन्दै वितरकले हलहरुलाई पत्रचार समेत गरेका थिए । ‘सारङ्गी’का निर्माता र वितरकबीच भएको सहमतिपत्रले वितरकलाई सिनेमाको प्रदर्शन जारी राख्न अधिकार दिएको छ ।

वितरकले यही सहमतिमा टेकेर प्रदर्शन नरोक्ने निर्णय गरेपछि दुई पक्षबीच विवाद उत्पन्न भएको थियो । प्रदर्शन जारी राखे कानुनी उपचारमा जाने चेतावनी समेत सिनेमाका निर्माता विनोद पौडेलले दिएका थिए ।
वितरक र निर्माताबीच सिनेमाको प्रदर्शनलाई लिएर आइतबार भएको छलफलबाट प्रदर्शन जारी राख्ने सहमति भएको थियो ।
सोमबार बिहान निर्माण कम्पनी सेभेन सिज सिनेमाले एक विज्ञप्ति जारी गर्दै मंसिर २२ गतेको विज्ञप्तिको सूचना सच्चाउँदै सिनेमालाई निरन्तर प्रदर्शन गराउने निर्णय भएको जनाएको छ । विज्ञप्तिमा सिनेमाको प्रदर्शन अधिकार वितरकसँग रहेको पनि उल्लेख गरिएको छ ।


प्रतिक्रिया