नेपाल चलचित्र संघले सेभेन सिजले निर्माण र वितरण गर्ने सिनेमालाई प्रदर्शन नगर्ने

नेपाल चलचित्र संघले सेभेन सिजले निर्माण र वितरण गर्ने सिनेमालाई प्रदर्शन नगर्ने

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा हल सञ्चालकको छाता संस्था नेपाल चलचित्र संघले सोमबार एक विज्ञप्ति सार्वजनिक गर्दै अबदेखि सेभेन सिज सिनेमाले निर्माण र वितरण गर्ने कुनैपनि सिनेमा प्रदर्शन नगर्ने घोषणा गरेको छ । संघले सिनेमाको निर्माण कम्पनी सेभेन सिजले प्रदर्शन स्थगनको विषयमा स्पष्ट धारणा नराख्दासम्म यो कम्पनीका कुनै सिनेमा प्रदर्शन नगरिने विज्ञप्तिमार्फत् जनाइएको हो ।

‘मंसिर २३ गते सेभेन सिज सिनेमाले ‘पूर्णबहादुरको सारङ्गी’को प्रदर्शन स्थगित सम्बन्धमा जारी विज्ञप्तिमा नेपाल चलचित्र संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जबसम्म सेभेन सिज सिनेमाले यस सम्बन्धमा नेपाल चलचित्र संघलाई आफ्नो धारणा स्पष्ट पार्दैन, तबसम्म सेभेन सिज सिनेमाले निर्माण गर्ने वा वितरण गर्ने कुनै पनि सिनेमा नेपाल चलचित्र संघको सदस्यहरुले प्रदर्शन नगर्ने जानकारी गराउन चाहन्छौं ।’

नेपाल चलचित्र संघले हलमा प्रदर्शकले वितरकमार्फत मात्र सिनेमा प्रदर्शन गर्न पाउने कानुनले व्यवस्था गरेको र यो नियमले प्रदर्शकको व्यवसायको सरोकार वितरकसँग मात्र रहने जनाएको छ । तर, सेभेन सिजले कानुनभन्दा बाहिर गएर संघका सदस्यहरुको मानमर्दन गरेको विज्ञप्तिमा उल्लेख छ । संघद्धारा जारी विज्ञप्तिमा ‘पूर्ण बहादुरको सारङ्गी’को उत्साहजनक व्यापारमा प्रदर्शकको पनि महत्वपूर्ण योगदान रहेको दाबी गरिएको छ ।

सेभेन सिजले विज्ञप्तिमार्फत संघका सदस्यहरूको पटक पटक मानमर्दन गर्ने कार्य गरेको भन्दै संघले खेद समेत ब्यक्त गरेको छ । मानमर्दन गर्ने कार्य संघलाई सह्य नहुने समेत विज्ञप्तिमा उल्लेख छ । चलचित्र संघको यो निर्णय ‘पूर्णबहादुरको सारंङ्गी’को हकमा लागू नहुने बताइएको छ ।