दीपेन्द्र लामा निर्देशित ‘दुखी आत्मा’मा कवि मुकारुङका १० कविता समावेश

दीपेन्द्र लामा निर्देशित ‘दुखी आत्मा’मा कवि मुकारुङका १० कविता समावेश

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं । दीपेन्द्र लामा निर्देशित ‘दुखी आत्मा’मा चर्चित कवि श्रवण मुकारुङका कविता पनि सुन्न पाइने भएको छ । कवि मुकारुङले ‘दुखी आत्मा’का लागि बिभिन्न शीर्षकका १० वटा कविता लेखेका छन् । सिनेमाको पटकथा अनुसार कवि मुकारुङले रचेका ती कविता सिनेमाभित्र सिच्युसन अनुसार राखिएको बताइएको छ ।

माथि माथि शैलुङुगेमा, तिमी तारेभीर, राई माइलाले गाउँ छोड्यो रे जस्ता बहुचर्चित गीतका रचनाकार मुकारुङले आफू ‘दुखी आत्मा’मा फुलटाइमर कविका रुपमा आवद्ध हुन पाएकोमा खुसी व्यक्त गरेका छन । ‘सिनेमाका फराकिला दर्शक समूहमाझ कविता पुग्नु कुनै पनि स्रष्टाका लागि उत्साहजनक हो,’ उनी भन्छन्, ‘म आफ्ना कवितालाई फरक प्लेटफर्ममा हेर्न आतुर छु ।’

सिनेमाको मुख्ख पात्रको मनोविज्ञान र यसअघि मुकारुङले लेखेका कविताहरुको स्वभावबीच एकरुपता पाइएकोले उनलाई कविता रच्न लगाइएको निर्देशक लामाले बताए । उनले भने, ‘कवि मुकारुङका कविताले सिनेमाको कलात्मक उचाइ र कथाको आयामलाई बढाउने काम गरेको छ । पात्रको कतिपय भाव र सोचाइलाई संवाद वा दृश्यमार्फत् प्रस्तुत गर्न गाह्रो हुन्छ, त्यसैले यसमा कविताको सहारा लिइएको हो ।’ निर्देशक लामा मुकारुङका कविताहरुले आफ्नो सिनेमाको पात्र र परिवेशलाई न्याय मिलेको दावी गर्दछन । मुकारुङका अधिकांश कविता ‘दुखी आत्मा’का मुख्ख अभिनेता दयाहाङ राई माथि फिचरिङ गरिएको बताइएको छ ।

क्लक वर्क क्रियसनको ब्यानरमा हिमाल कडरियाको निर्माण अनि सुदिप ढकाल कार्यकारी निर्माता रहेको सिनेमामा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेयर राईलगायत कलाकार मुख्य भूमिकामा छन । आलोक शुक्लाले खिचेको सिनेमा भ्यालेन्टाइन्स डेको अवसरमा २ फागुनबाट प्रदर्शन हुँदैछ । सिनेमालाई आरआर फिल्मस्ले बितरण गर्दैछ । सिनेमाको हाल धमाधम पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।