सौगात मल्ल अभिनित ‘बम बहादुर’को दार्जिलिङ प्रिमियर सम्पन्न

सौगात मल्ल अभिनित ‘बम बहादुर’को दार्जिलिङ प्रिमियर सम्पन्न

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपाल र भारतमा एकसाथ पुष ५ गते रिलिज हुने नेपाली सिनेमा ‘बम बहादुर’को भारतको दार्जिलिङमा प्रिमियर गरिएको छ । सञ्जीव सार्कीले निर्माण र जोन राईले निर्देशन गरेको सिनेमाको प्रिमियर शोमा दार्जिलिङका दर्शकले प्रशंसा गरेका छन् ।

ओख्ली ढिकी प्रोडक्सनले गोर्खा रंगमञ्च भवनमा सिनेमाको प्रिमियर शो आयोजना गरेको थियो । यो प्रिमियरमा सिनेमा निर्माणमा टिमको परिश्रम र समर्पणको कदर गर्दै कलाकार र प्राविधिकलाई सम्मान गरिएको थियो । अन्य सिनेमाको छायांकनमा व्यस्त रहेकाले मुख्ख अभिनेता सौगात मल्ल प्रिमियरमा उपस्थित थिएनन् । अनिशा रसाइली, अजय प्रधान, शान्तिला तामाङ, बाल कलाकार वशिस्ट कार्की, प्रभात पाख्रिन, बादल क्षेत्री लगायतका कलाकार प्रिमियरमा उपस्थिति थिए ।

‘बम बहादुर’ले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको संघर्षका पलहरूमा आधारित इतिहासलाई सन्देशमुलक ढंगले चित्रण गरिएको छ । सिनेमाले सन १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्याण्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह-अवरोहलाई पर्दामा प्रस्तुत गरेको छ ।

सिनेमाका मुख्य पात्र बम बहादुरको संघर्षमय जीवनले सिनेमालाई प्रभावकारी बनाएको प्रिमियरमा सिनेमा हेरेका दर्शकले बताए । सिनेमाको कथावस्तु बलियो मात्र नभएर संवादहरू आकर्षक, मार्मिक र जीवन्त रहेको कारण सिनेमा उत्कृष्ट बनेको प्रतिक्रिया दर्शकले दिएका छन् ।

कथावस्तु, प्रस्तुति र कलाकारहरूको अभिनयसँगै सिनेमाको प्राविधिक पक्षले पनि विशेष प्रशंसा पाएको छ । दार्जिलिङका सुन्दर दृश्यहरूले सिनेमाटोग्राफी अत्यन्तै मनमोहक र पाश्र्व संगीतले सिनेमालाई थप सुन्दर बनाएको प्रतिक्रिया दर्शकबाट प्राप्त भएको दाबी निर्माण टिमको छ ।