प्रकाश र परीक्षाको मुख्य भूमिका रहने ‘सोल्टिनी’ निर्माण घोषणा

प्रकाश र परीक्षाको मुख्य भूमिका रहने ‘सोल्टिनी’ निर्माण घोषणा

द सिनेमा टाइम्स
196
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अर्जुन सुवेदीको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘सोल्टिनी’को निर्माण घोषणा गरिएको छ । सोमबार घोषणा टिजर र फर्स्टलुक पोस्टरमार्फत् सिनेमाका मुख्य कलाकार र कथावस्तुबारे जानकारी गराइयो । अभिनेता प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बूलाई लिएर बन्न लागेको सिनेमाले जातीय विभेद र वियोगान्त प्रेमकथा भन्नेछ ।

सार्वजनिक पोस्टरमा प्रकाश र परीक्षा भावुक मुद्रामा प्रस्तुत छन्, जसले उनीहरुबीच विछोड हुन लागेको संकेत गर्छ । घोषणा टिजरमा भने चर्चित स्टोरी टेलर साइग्रेस पोखरेलले सिनेमाको भाव बुझाउने कथावाचन गरेका छन् । त्यसपछि प्रकाश र परीक्षाको पात्र परिचय दिँदै उनीहरुबीच अन्तिमपटक भेट हुँदाको मर्मस्पर्शी संवाद समावेश छ ।

सिनेमाको सार्वजनिक टिजरमा उल्लेख भएअनुसार सिनेमामा प्रकाश (भीमसेन पोखरेल) र परीक्षा (दिलासा राई)को भूमिकामा देखिने छन् । कथा भने भोजपुरको गाउँको हुनेछ । सिनेमामा प्रकाश र परीक्षाबाहेक अन्य कलाकारहरु निश्चित भएका छैनन् । आगामी पुष १५ गतेबाट छायांकनको तयारी गरिएको सिनेमालाई २०८२ सालको असोज ३ गते (संविधान दिवस) प्रदर्शन गरिने जनाइएको छ ।

प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिनेको र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको सिनेमाको निर्मातामा रेजिना विष्ट र संसार चौलागाई छन् । सिनेमालाई नेपालमा आरआर फिल्म्स र अन्तर्राष्ट्रिय बजारमा नेप सिनेले वितरण गर्ने निश्चित भइसकेको छ ।