द सिनेमा टाइम्स, काठमाडौं । नेपाली बक्सअफिसमा सर्वाधिक व्यापार गर्ने सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण टिम एकपछि अर्को विवादको गोलचक्करमा फसिरहेको छ ।
सोमबार सिनेमाको रिलिजलाई लिएर निर्माता र प्रदर्शकबीच विवाद चलिरहँदा निर्माण कम्पनी सेभेन सिज इन्टरटेनमेन्टका सञ्चालकबीच नै फाटो आएको खबर सार्वजनिक भएको हो । यो सिनेमा निर्माण कम्पनीका दुई सञ्चालक प्रतिक पौडेल र रमेश ढकालले वितरक कम्पनीद्वय ब्यांकटेस इन्टरटेनमेन्ट र टी-फोक फिल्मस्लाई सोमबार पत्र लेख्दै सिनेमाको बाँकी भुक्तानी रकम रोक्न आग्रह गरेका छन् ।
उनीहरुले पठाएको पत्रमा भनिएको छ, ‘हाल हाम्रो सिनेमाको शेयर रकम भुक्तानी सेभेन सिज सिनेमाको नाममा जम्मा भइरहेको जानकारीमा आएको हुँदा हालसम्म भएको भुक्तानीको जानकारी गराएर बाँकी भुक्तानी रोक्का गरि यस कम्पनीको हामी सञ्चालकहरुको रोहवरमा फाइनल हिसाब किताब गरि सम्बन्धित हाम्रो संयुक्त बैंक खाता रहेको कम्पनीमा मात्र भुक्तानी गर्नुहुन अनुरोध छ ।’
सेभेन सिज इन्टरटेनमेन्टको नाममा रहेको उक्त पत्र सेभेन सिज सिनेमा, बाँसुरी फिल्मस्, नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ र चलचित्र विकास बोर्डलाई पनि पठाइएको छ । जसमा ‘पूर्णबहादुरको सारङ्गी’को निर्माण कम्पनीको नाम सेभेन सिज इन्टरटेनमेन्ट रहेको उल्लेख छ ।
केही दिनअघि सेभेन सिज सिनेमाको लेटर प्याटबाट सिनेमाको प्रदर्शन स्थगन गर्ने घोषणा गरिएको थियो । सोमबार सोही लेटर प्याटबाट प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको जनाइएको थियो । तर, सोमबार प्रतिक र रमेशले वितरकलाई पठाएको पत्रमा सेभेन सिज इन्टरटेनमेन्टबाट सिनेमा निर्माण भएकाले सेभेन सिज सिनेमाको नाममा भइरहेको भुक्तानी रोक्न भनिएको छ ।
सेभेन सिज इन्टरटेनमेन्टको सञ्चालकमा प्रतिक र रमेशसहित विनोद पौडेल छन् । प्रतिक र रमेशले अर्को कम्पनी (सेभेन सिज सिनेमा)को नाममा भइरहेको भुक्तानी रोक्न वितरकलाई पत्र उठाएपछि सञ्चालकहरुबीचको विवाद सतहमा आएको हो ।
सोमबार नेपाल चलचि संघले सेभेन सिज सिनेमाजले निर्माण र वितरण गर्ने सिनेमालाई आफ्नो मातहतका सदस्यले प्रदर्शन नगर्ने घोषणा गरेको केही घण्टामै अमेरिका वितरक सुवेदी र मध्यपूर्व वितरक ढकालले पत्र लेखेका हुन् । ती संस्थालाई पठाइएको पत्रमा केन्द्रिय चलचित्र जाँच समितिको प्रमाणपत्र र निर्माण इजाजतपत्र पनि समावेश गरिएको छ ।


प्रतिक्रिया