‘कार्साङ’को टिजरले कस्तो पायो दर्शक प्रतिक्रिया ?

‘कार्साङ’को टिजरले कस्तो पायो दर्शक प्रतिक्रिया ?

द सिनेमा टाइम्स
476
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी पुष २६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘कार्साङ’को टिजरले राम्रो प्रतिक्रिया पाइरहेको निर्माणपक्षले जनाएको छ । सिनेमाको विषय र टिजरमा देखिएको सम्बन्ध अनि समुदायमा हुने व्यवाहारलाई दर्शकले मन पराइरहेको निर्देशक यम शेर्पाले बताए ।

‘विशेषगरी हामीले जुन समुदायको संस्कृति देखाएका छौं । त्यसलाई दर्शकले मन पराइहरनु भएको छ । कमै मात्रै सिनेमामा देखिएको शेर्पा समुदायको कथा हेर्न पाइने भयो भन्ने उत्सुकता देखिएको छ,’ निर्देशक शेर्पाले भने, ‘आम नेपाली गाउँले जीवनको कथा र परिवेश हेर्न पाइने भयो भन्ने उत्सुकता व्यक्तिगत रुपमा र सामाजिक सञ्जालमार्फत पनि आइरहेको छ ।’

सिनेमाको केही दिनअघि सार्वजनिक टिजरमा ग्रामीण परिवेश र शेर्पा समुदायको कल्चर देख्न सकिन्छ । जसमा धामी बसेर जीवीकोपार्जन दयाहाङ राईको गरिबीदेखि जितु नेपालका श्रीमान्–श्रीमतीको सन्तान नहुँदाको तनावसम्म समेटिएको छ । ऋण, सरसापटले काम चलाउने ग्रामीण परिपाटी, एकजोर नयाँ लुगाका लागि सन्तानले गरेको अपेक्षा पूरा गर्न नसक्ने अभिभावकको चरम गरिबी टिजरमा समावेश छ ।

यम शेर्पाको डेव्यु निर्देशन रहेको ‘कार्साङ’मा कथा पनि निर्देशक स्वयंले लेखेका छन् । अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङको मुख्य भूमिका रहेको सिनेमामा सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, कर्मा शेर्पा, छोकी शेर्पा, सभ्य दीप गौतम, बिमल पुरी, दिलीप पन्त, छिरिङ शेर्पा, पवन कुमार गोले, अमृत शेर्पालगायत कलाकारको अभिनय रहेको छ । सिनेमाको बाल कलाकारमा राशी लिम्बु, सोहन थापा रहेका छन् ।

यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका पुरुषोत्तम प्रधान छायांका र निर्माता समेत हुन् । सिनेमाको सह-निर्माता गोविन्द बोहरा र कार्यकारी निर्माता आङछिरिङ शेर्पा छन् । वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको सिनेमाको अन्तर्राष्ट्रिय वितरक अधिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर किनेका छन् । नेपालमा आरआर फिल्मसले वितरण गर्नेछ ।