जी-नेटवर्कले किन्यो ‘ह्रस्व दीर्घ’को ओटीटी र स्याटेलाइट राइट्स

जी-नेटवर्कले किन्यो ‘ह्रस्व दीर्घ’को ओटीटी र स्याटेलाइट राइट्स

द सिनेमा टाइम्स
833
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री नीता ढुंगानाको लगानी रहेको सिनेमा गत कार्तिक ३० गतेबाट नेपाली बक्सअफिसमा रिलिज भएको थियो । त्यसको एक हप्तापछि मंसिर ७ गतेबाट विदेशमा विभिन्न ठाउँमा प्रदर्शन भैरहेको सिनेमाले राम्रो दर्शक प्रतिक्रियासहित उत्साहजनक व्यापार गरेको थियो । यो सिनेमाले नेपाली बक्सअफिसमा मात्रै १० करोड ६० लाख ग्रसकलेक्सन गरेको दाबी निर्माण टिमको छ ।

यसैबीच सिनेमा ‘ह्रस्व दीर्घ’को ओटीटी र स्याटेलाइट (टिभी) राइट्स भारतीय कम्पनी जी-नेटवर्कले खरिद गरेको छ । बुधबार सिनेमाकी निर्मात्री तथा अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीसँग जी-नेटवर्कका अधिकारीले दुईवटा राइट्सको खरिद सम्झौता गरेका हुन् । सिनेमाको हिन्दी डविङ र टेलिभिजन राइट्स बिक्रि भएको जानकारी नीता र हरिहरले फेसबुकमार्फत् दिएका छन् ।

केही दिन अगाडी सिनेमा प्रदर्शनको लागि जापान पुगेका हरिहर र नीता त्यहाँबाट सिधै भारत पुगेर मुम्बईस्थित जी-नेटवर्कको मुख्यालयमा पुगेका थिए । उनीहरुसँग ‘ह्रस्व दीर्घ’का छायाँकार कवीरलाल पनि थिए, जो बलिउडका चर्चित छायांकार हुन् । जी-नेटवर्कमा सिनेमाको ओटीटी र स्याटेलाइट राइट्स बिक्री गराउन कवीरलालको पनि ठूलो भूमिका छ ।

जी-नेटवर्कले सिनेमाको राइट्स कति मूल्यमा खरिद गरेको हो भन्ने खुलाइएको छैन । तर, उक्त रकम ठूलो रहेको स्रोत बताउँछ । जी-नेटवर्क भारतको ठूलो मिडिया समूह हो । विश्वभर ४५ बढी टिभी च्यानल सञ्चालन गरिरहेको यो कम्पनीको ओटीटी प्लाटफर्म भने ‘जी फाइभ’ हो । जसले बलिउड र दक्षिण भारतीय सिनेमाको ओटीटी तथा स्याटेलाइट राइट्स खरिद गर्दै आइरहेको छ ।

जी-नेटवर्क अन्तर्गतका टेलिभिजन र ‘जी फाइभ’ ओटीटी प्लाटफर्ममा रिलिज हुने ‘ह्रस्व दीर्घ’ पहिलो नेपाली सिनेमा हुनेछ । यो नेपाली सिनेमाका लागि ठूलो उपलब्धि हो । यो कम्पनीले सिनेमाको राइट्स खरिद गर्नुमा दक्षिण भारतीय सिनेमाका चर्चित कलाकारहरुको अभिनय मुख्य कारण मानिएको छ ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।