द सिनेमा टाइम्स, काठमाडौं । छायांकनको तयारीमा रहेको सिनेमा ‘सोल्टिनी’मा तक्मे बुढाको नामले परिचित कलाकार विल्सन विक्रम राई अनुबन्धित भएका छन् । राईको प्रवेशसँगै सिनेमाको कलाकार टिम अझै बलियो बनेको छ ।
सिनेमामा राईको भूमिकाबारे अहिले नै खुलाइएको छैन । यसअघि नै सिनेमामा प्रकाश सपूत र परीक्षा लिम्बुले मुख्य भूमिका निभाउने घोषणा भइसकेको थियो । सपूतले ‘भीमसेन पोखरेल’ र लिम्बुले ‘दिलासा राई’को भूमिका निभाउनेछन् ।
‘सोल्टिनी’ भोजपुरको कुनै गाउँमा आधारित रहनेछ । सिनेमाका निर्देशक अर्जुन सुवेदीका अनुसार यसमा समाजमा विद्यमान अमानवीयता र जातीय भेदभावलाई उजागर गर्दै यस विरुद्ध आवाज उठाउने कथा तथा दुई प्रमुख पात्रको अपुरो प्रेमको कथा रहनेछ ।
सिनेमामा प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सब्बु गुरुङ लगायतका अनुभवी कलाकारहरूको पनि अभिनय रहनेछ । प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले सिनेमाका लागि संगीत दिनेछन् भने डिओपीको जिम्मेवारी सुशन प्रजापतिले लिएका छन् ।
प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको सिनेमाका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् भने सह-निर्माताहरू वसन्त कटुवाल र सुजन अधिकारी हुन् । आरआर फिल्मस्ले नेपाल र नेपसिनेले विदेश वितरण गर्नेछन् ।
२०८२ सालको असोज ३ गते संविधान दिवसको दिन रिलिज गर्ने लक्ष्य राखिएको सिनेमाको छायांकन पुस १५ बाट सुरु हुनेछ ।


प्रतिक्रिया