‘कार्साङ’मा जितु नेपालको चरित्र कस्तो छ ?

‘कार्साङ’मा जितु नेपालको चरित्र कस्तो छ ?

द सिनेमा टाइम्स
399
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता तथा हास्य कलाकार जितु नेपालले सानो पर्दा मात्रै नभई सिनेमाको पर्दामा पनि सुरुका वर्षमा हास्य कलाकारकै भूमिकैमा देखिएका थिए । तर, जब उनले सिनेमामा मुख्य भूमिका पाए त्यहाँ उनी गम्भीर भूमिका देखिए । सहायक भूमिकामा भने अहिले पनि उनले कमेडी भूमिका नै पाउँदै आएका छन् ।

दयहाङ राई मुख्य भूमिकामा रहेको सिनेमा ‘कार्साङ’मा उनको चरित्र कस्तो छ ? यो सिनेमामा जितु दयाहाङको साथीको भूमिकामा रहेको टिजरले प्रष्ट पारिसकेको छ । ‘कार्साङ’मा जितुको चरित्र दयाहाङसँग जोडिएको छ । उनी सिनेमामा दलित समुदायको पात्रमा रहेको निर्माणपक्षले सार्वजनिक गरेको पोस्टरबाट अनुमान लगाउन सकिन्छ ।

बच्चा नभएको दोस एकले अर्कोलाई लगाइरहेको रहस्य सिनेमाको टिजरले खोलिसकेको छ । तर, कारण के र समस्या कस्मा छ भन्ने हालसम्म खुलेको छैन । सिनेमामा उनले दर्शकलाई हसाउनेछन् । हसाउनेसँगै केही गम्भीर चरित्र पनि रहेको जितुले बताएका छन् ।

दसैँमा रिलिज भएको सिनेमा ‘ज्वाइँ साब’मा उनी मुख्य भूमिकामा थिए । यसपछि उनी फेरि क्यारेक्टर रोलमा फर्किएका हुन् । यसैबीच ‘कार्साङ’ले पब्लिसिटी सुरु गरेको छ । पूर्वी नेपालबाट सिनेमाको प्रचार सुरु गरिएको हो । सिनेमाका मुख्य कलाकार जितु नेपाल, सिर्जना निङलेखु, दीया मास्केले पूर्वी नेपाल पुगेर सिनेमा हेर्न दर्शकलाई अपिल गरिरहेका छन् ।

आम ग्रामीण परिवेशको नेपालीको कथा ‘कार्साङ’ले भन्ने भन्दै कलाकारहरूले आफ्नौ ठाउँ अनि समुदायको कथा सिनेमामा देख्न सकिने बताउँछन् । यम शेर्पाको डेब्यु लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘कार्साङ’ पुस २६ गते पदर्शन हुनेछ ।

शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको सिनेमामा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका पुरुषोत्तम प्रधान छायांकार र निर्माता हुन् । सिनेमाको सह-निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन् ।

यो सिनेमाको अन्तर्राष्ट्रिय वितरक अधिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छ भने देशभर वितरणको जिम्मेवारी आरआर फिल्मस्ले लिएको छ ।