द सिनेमा टाइम्स, काठमाडौं । गत मंसिर ७ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘तेल भिसा’ अहिले पनि केही हलमा प्रदर्शनरत छ । दक्षिण भारतीय सिनेमा ‘पुष्पा २’का कारण न्युन शोमा खुम्चिएको सिनेमाले चौथो सातामा पनि राम्रो व्यापार गरिरहेको दाबी निर्देशक शंकर घिमिरेको छ ।
निर्देशक घिमिरेले हाम्रो सिनेमाले बक्सअफिसमा राम्रो व्यापार गर्दा पनि ठुुलो भारतीय सिनेमाका कारण न्युन शोमा खुम्चिनु परेको छ । ‘दर्शकबाट अहिले पनि राम्रो माग भैरहेको हुँदा पनि हलमा शो नथपिएको गुनासो उनको छ । अहिले पनि हामीलाई मिलेको शोमा दर्शक अकुपेन्सी निकै राम्रो छ । अस्ती शनिबार त हामीलाई दिइएका सवैजसो शोहरु हाउसफूल थिए । अहिले त भारतीय सिनेमा ‘पुष्पा’को व्यापार कमजोर देखिँदा पनि हामी किनारामा परिरहेका छौं । शो बढेको छैन्,’ निर्देशक घिमिरे भन्छन् ।
शंकर घिमिरे निर्देशित सिनेमामा अभिनेता विपिन कार्की बाबु र छोराको गरी दोहोरो भूमिकामा छन् । दर्शकलाई सिनेमाप्रति आकर्षित गर्ने यो महत्त्वपूर्ण आधार मानिएको छ । निर्देशक घिमिरेको नै लेखन रहेको सिनेमामा विपिनसँगै वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमामा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ ।


प्रतिक्रिया