द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘सोल्टिनी’को लागि कलाकारहरूको लाइनअप पुरा भएको छ । नेपाली सिनेमा क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति रहने भएको निर्देशक अर्जुन सुवेदीले जानकारी गराएका छन् ।
सिनेमामा अभिनेताहरू प्रकाश सपूत र विल्सन विक्रम राई तथा अभिनेत्री परीक्षा लिम्बुको प्रमुख अभिनय रहनेछ भने रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल र सुजन खतिवडा लगायतका अनुभवी कलाकारहरूको अभिनयले सिनेमालाई थप बलियो बनाउनेछ । साथै, यस सिनेमामा अडिसनमार्फत छनौट भएकी सब्बु गुरुङले पनि प्रमुख भूमिका निभाउनेछिन् ।
प्रकाश सपूतले ‘भीमसेन पोखरेल’ र परीक्षा लिम्बुले ‘दिलासा राई’को मुख्य भूमिका निभाउने सिनेमा घोषणामा नै बताइएको थियो । पहिलो पटक एकसाथ देखिन लागेका यी दुई कलाकारको जोडीले पर्दामा गजबको जादु चलाउने विश्वास गरिएको छ ।

भोजपुरको रमणीय प्राकृतिक सौन्दर्यमा छायाङ्कन हुने यस चलचित्रले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ । साथै, दुई प्रमुख पात्रबीचको प्रेम कथा पनि यसको मुख्य आकर्षण रहनेछ ।
सङ्गीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायाङ्कन सुशन प्रजापतिले गर्नेछन् । प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो सिनेमाका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् । ट्राइडेन्ट कन्सेप्टले पब्लिसिटी डिजाइन गर्नेछ भने आरआर फिल्मस् प्रा.लि.ले नेपाल र नेपसिनेले विदेश वितरण गर्नेछन् ।


प्रतिक्रिया