द सिनेमा टाइम्स, काठमाडौं । नेपाल ग्रामीण सिनेमा महोत्सव (नेरुफ)को चौंथो संस्करण आउँदो वैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले महोत्सवको उद्देश्य पर्यटन प्रवद्र्धनसँगै नेपाली सिनेमालाई ग्रामीण बजारमा पु-याउने रहेको जानकारी दिए ।
नेपाली मौलिक ग्रामीण कथावस्तुमा निर्माण भएका सिनेमालाई महोत्सवमा समावेश गरिनेछ । महोत्सवको लागि सिनेमा दर्ता आह्वान गरिएको अध्यक्ष सापकोटाले जानकारी दिए । महोत्सवमा डकुमेन्ट्री, छोटा सिनेमा, फिचर सिनेमा र भाषाभाषीका सिनेमाहरुले महोत्सवमा सहभागी हुन सक्नेछन् ।
‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै सिनेमा’ भन्ने मूल नाराका साथ आयोजना हुनेछ । जुरी टिमले छनोट गरेका सिनेमाहरू अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र अवार्ड प्रदान गरिनेछ । यो महोत्सव विगत चार वर्षदेखि आयोजना हुँदै आइरहेको छ ।
यो महोत्सवमा सिनेमा स्क्रिनिङ्गसंगै ग्रामीण परिवेशलाई समेटेर कस्ता सिनेमा निर्माण गर्ने र कस्ता सिनेमाले दर्शकको साथ पाउने छ भन्ने विषयमा अन्तरक्रिया, कार्यशाला गोष्ठीहरु समेत गरिनेछ । पहिलो वर्ष गोरखाको लाप्राकमा आयोजना गरिएको यो महोत्सव दोस्रो पटक काभ्रे जिल्लाको भकुण्डेबेसीमा र तेश्रो पटक रामेछापमा आयोजना गरिएको थियो ।


प्रतिक्रिया