जीवन सेञ्चुरी निर्देशित ‘जुना’ माघ २५ मा रिलिज घोषणा

जीवन सेञ्चुरी निर्देशित ‘जुना’ माघ २५ मा रिलिज घोषणा

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं । जीवन सेञ्चुरीको निर्देशनमा निर्माण भएको सिनेमा ‘जुना’ आगामी माघ २५ गते रिलिज हुने भएको छ । यसअघि यो सिनेमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद, विज्ञ, लेखक, समालोचक लगायतले हेरिसकेका छन् । उनीहरुबाट सिनेमाले सकारात्मक प्रतिक्रिया पाएको थियो ।

बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको सिनेमामा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, विकास आनन्द, इन्द्र बिके र केशव अधिकारीको अभिनय छ । पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको सिनेमामा दीपकप्रसाद घिमिरेको लगानी छ ।

निर्देशक सेञ्चुरीले यो सिनेमा मार्फत् बाल विवाह सामाजिक अपराध हो भन्ने बुझाउन खोजेको बताए । सिनेमाले बाल विवाह तथा महिलाको मुद्धा बोकेको हुँदा नेपाल सरकारले सन् २०३० सम्ममा बाल विवाह अन्त्य गर्न लिएको लक्ष्यलाई सघाउने निर्देशक सेञ्चुरीको दाबी छ ।

‘जुना’ एक ऐतिहासिक र विशिष्ट प्रकृतिको सिनेमा हो । नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई सिनेमाको माध्यमबाट सम्बोधन गर्ने प्रयास गरिएको निर्देशक सेञ्चुरीको भनाई छ ।

गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालिको व्यानरमा निर्माण भएको सिनेमामा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ । सिनेमाको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।